बर्मा- बौद्ध धर्मावलम्बीहरुको मुख्य बसोबास रहेको बर्माका नागरिकहरुलाई म्यानमारमा रहेको नेपाली राजदूतावासले नेपाल भ्रमणको निम्तो दिएको छ। भिजिट नेपाल २०२० को सन्दर्भ पारेर राजदूतावासले राजधानी यांगुनमा एक कार्यक्रम गरेर म्यानमारवासीलाई नेपाल भ्रमणको निम्तो दिएको हो।
म्यानमारको पर्यटन तथा होटल सम्बन्धी संघीयमन्त्री हे यु अन मङ्को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने सबै वक्ताहरुले भगवान गौतम बुद्धको जन्मस्थल भएको कारणले पनि नेपाल म्यानमारको लागि सदैव गन्तव्य देश भएकाले लुम्बिनीको भ्रमण महत्वपूर्ण रहने बताएका थिए।
प्रमुख अतिथि मङ्कले नेपाल म्यानमारको सम्बन्ध सयौं वर्ष पुरानो रहेको र म्यानमारमा गोर्खाली जातिको पुरानो इतिहास रहेको चर्चा गर्दै लुम्बिनीको भ्रमण सबै म्यानमारवासीहरुको सपना भएको र यसले दुई देशको जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे। उनले भ्रमण वर्षमा म्यानमारवासीहरुलाई लुम्बिनी जान आग्रह पनि गरेका छन्।
कार्यक्रम आयोजक म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपाल र म्यानमारको सम्बन्ध डेढ सय वर्षभन्दा पुरानो रहेकाले दुई देशको सांस्कृतिक सम्बन्ध ऐतिहासिक रहेको बताए। भौगालिक हिसाबले नजिकै रहेर पनि यातायात सुविधाको कारणले सजिलोसँग जोडिन नसकेका दुई देशलाई यातायात सुविधा र उड्डयन सेवाले जोड्न प्रयास गरिएको र यसले भ्रमण वर्षलाई सजिलो बनाउने आशा राजदूत उदासले व्यक्त गरेका छन्।
दुई देशको आवतजावत र पर्यटकीय तथा सांस्कृतिक सम्बन्धले दुवै देशको पर्यटन व्यवसायलाई बलियो बनाउने र त्यसतर्फ राजदूतावासले पहल गरिरहेको पनि उनले बताए।
बर्मामा डेढ लाखभन्दा बढी नेपालीभाषी बर्मेली नागरिक रहेकाले ठूलो संख्याका बौद्धमार्गी समुदाय हाल अरु रुट प्रयोग गरेर लुम्बिनी जाने गरेका छन्। लुम्बिनीसँग हुने सिधा सम्पर्कले बर्मेली पर्यटक नेपालमा बढ्ने विश्वास व्यक्त गरिएको छ।
राजदूतावासले पर्यटनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरुसँग यस सम्बन्धी समन्वय र सम्बन्धको प्रयास भएको पनि बताएका थिए। भ्रमण वर्षको सुरुवातसम्म भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल चाल हुन सक्ने सम्भावनाले पनि म्यानमारबाट नेपालसँगको सम्पर्क र आवतजावत सुगम हुने विश्वास पनि राजदूत उदासको भनाइ थियो।
कार्यक्रममा नेपाली मुलका बर्मेली नागरिक हिन्दु सेन्टर बोर्डका अध्यक्ष नन्दराम न्यौपानेलाई बर्मा सरकारबाट प्राप्त भएको अग्रमहा श्री सुधर्ममणीज्योतधर उपाधि प्राप्त भएकोमा राजदूतावासले सम्मान पनि गरेको थियो। यो उपाधि बर्मामा नागरिकले सामाजिक कर्मका लागि पाउने सबैभन्दा ठूलो उपाधि हो। कार्यक्रममा नेपालका लागि म्यानमारका पूर्वराजदुत यु हला मिन्ट आ, युनेस्कोकी पूर्वअधिकृत ओहोमार मियो र म्यानमार नेपाल बिजनेस फोरमका प्रतिनिधिले पनि बोलेका थिए।
राजदूतावासले नेपालमा म्यामारका पर्यटक पठाइरहेका तीन वटा ट्राभल एजेन्सीहरुलाई पनि सम्मान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।