राजविराज– सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थित खाँडो खोलामा ५ वर्षअघि सुरु भएको साढे ५ करोड लागतको पुल निर्माणको काम अझै सकिएको छैन। म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अझै आधा बाँकी छ।
जिल्लाका दक्षिणी भेगलाई सदरमुकामसँग जोड्न र भारतीय बजार आवतजावतलाई सहज बनाउन खाँडो पुल निर्माण सुरु गरिएको थियो। ५ करोड ४२ लाख ९५ हजार ६ सय १२ रुपैयाँ १० पैसाको लागतमा निर्माण काम सम्पन्न गर्ने गरी पप्पु–मृत सञ्जीवनीले पुल निर्माणको ठेक्का लिएको छ। २०७१ असार ३१ गते भएको सम्झौता अनुसार २०७३ असार ३० गते पुल निर्माणको काम सम्पन्न गर्ने सर्त छ।
राजविराज–बेलही भन्सार सडक अन्तर्गत भारतीय सीमा नजिकै पुल निर्माणको काम चलिरहेको छ। तर, जनशक्ति तथा आवश्यक औजार/उपकरणको अभाव हुँदा कामको गति सुस्त छ। पुल निर्माणको काम सम्पन्न गर्न अझै एक वर्षभन्दा बढी लाग्ने अनुमान छ।

‘ठेक्का लिएदेखि नै कम्पनीले चासो दिएर काम गरेन, त्यतिबेलै सुरु भएका पिल्लर अहिले पनि पुरा भएका छैनन्,’ स्थानीय राजेन्द्र प्रसाद यादव भन्छन्, ‘अहिले पनि काम गराई सन्तोषजनक छैन।’ ५ वर्षमा पुल निर्माणको काम बल्ल ५० प्रतिशत सकिएको उनले दाबी गरे।
निर्माण कम्पनीका साइड इन्चार्ज बुद्धिनाथ उप्रेतीले भने ७० प्रतिशत काम सम्पन्न भएको बताए। तर, पुल पूर्ण रुपमा तयार हुन अझै एक वर्ष लाग्ने उनको भनाइ छ। ‘पिल्लर निर्माणको काम चलिरहेको छ, त्यसपछि स्ल्याबको फर्मा बाँधेर ढलाइको तयारी गर्नै एक महिना लाग्छ,’ उनले भने, ‘मंसिरसम्ममा ढलान सक्ने गरी काम हुँदैछ।’
काम सुरु भएपछि प्राविधिक समस्याका कारण पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले सफाइ दिँदै आएको छ। ‘काम त सुरु भएकै थियो, माटो तान्ने मेसिन अचानक बिग्रियो,’ कम्पनीका हुद्दबहादुर अधिकारीले भने, ‘अचानक मेसिन बिग्रिएर समस्या सुरु भयो। सामान सबै भारतबाट मगाउनुपर्ने र भाडामा हत्तपत्त मेसिन पनि नपाएकाले काम अघि बढ्न नसकेको उनले प्रष्ट पारे।
स्थानीयलाई सास्ती
पुल निर्माणको काम सम्पन्न नहुँदा किनमेलका लागि भारतको कुनौली बजार आवतजावत गर्ने सर्वसाधारण र स्थानीय भने कष्ट काटिरहेका छन्। वर्षाको समयमा यातायातका साधन अवरुद्ध हुने र पौडिएरै खोला वारपार गर्नु परिरहेको स्थानीय वीरेन्द्र यादवले बताए।

पुल निर्माण स्थलको झन्डै ३० मिटर दक्षिणमा भारतीय पक्षले दसगजा छेउमै बनाएको बाँधका कारण पनि नेपाली पक्षले दुःख पाउने गरेका छन्। बाँधका कारण पानीको बहाव छेकिएर निर्माणस्थल छेउमै रहेको पुरानो पुल डुब्ने गरेको छ। बाटो नै नदेखिएपछि सर्वसाधारणको आवतजावत समेत अवरुद्ध हुने गरेको उनले बताए।
राजस्व असुली प्रभावित
राजविराज–बेलही भन्सार सडकमा पुल नहुँदा सप्तरीमा हरेक वर्ष राजस्व असुलीसमेत प्रभावित हुने गरेको छ। तिलाठीको बेलहीस्थित मुख्य भन्सार कार्यालय पुल निर्माण स्थलको करिब ५ सय मिटरको दुरीमा छ।

पुल नहुँदा असार, साउन र भदौ महिनामा निकासी–पैठारी पूर्ण रुपमा बन्द हुने र लक्ष्य पूरा गर्न समस्या हुने गरेको भन्सार कार्यालयका कर्मचारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।