काठमाडौं- चालू आर्थिक वर्षको बैसाख मसान्तसम्ममा मुलुकले कूल ११ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार १० महिनाको अवधिमा कूल १२ खर्ब ५६ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ बराबरको कूल वैदेशिक व्यापारमा ११ खर्ब ७८ अर्ब १३ करोड ९४ लाख रुपैयाँ बराबरको आयात र ७८ अर्ब ५३ करोड ३९ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ।
अघिल्लो आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा मुलुकको व्यापार घाटा करिब ९ खर्ब १५ अर्ब रुपैयाँ बराबर रहेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा यसवर्ष २० दशमलब ६ प्रतिशतले व्यापार घाटा बढेको देखिन्छ। चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ खर्ब रुपैयाँभन्दा बढीले व्यापार घाटा बढेको देखिन्छ।
समिक्षा अवधिमा आयात करिब २० प्रतिशत र निर्यात करिब १८ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। वैदेशिक व्यापारमा आयातको हिस्सा ९३ दशमलब ८ प्रतिशत र निर्यातको हिस्सा ६ दशमलब ३ प्रतिशत रहेको छ। यसको अर्थ नेपालले १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा करिब ९४ प्रतिशतको आयात र करिब ६ प्रतिशत बराबर मात्रै निर्यात गरिरहेको छ।
नेपालले बढी आयात गर्ने मुलुकहरुमा भारतबाट ६४ दशमलब ६ प्रतिशत, चीनबाट १४ दशमलब १० प्रतिशत, संयुक्त राज्य अमेरिकाबाट २ दशमलब ५ प्रतिशत, फ्रान्सबाट १ दशमलब ६ प्रतिशत र अन्य मुलुकहरुबाट करिब १७ प्रतिशत आयात गरेको छ।
त्यसैगरी, नेपालले सबैभन्दा बढी भारतमा कूल निर्यातको ६४ दशमलब १ प्रतिशत निर्यात गरेको छ। नेपालबाट बढी वस्तु तथा निर्यात भएका मुलुकहरुमा अमेरिकामा ११ दशमलब ३ प्रतिशत टर्कीमा ३ दशमलब ३ प्रतिशत, जर्मनीमा ३ प्रतिशत र अन्य मुलुकहरुमा १८ प्रतिशत निर्यात भएको छ।
बढी आयात-निर्यात भएका वस्तु
१० महिना अवधिमा सबैभन्दा धेरै आयात भएको वस्तुमा पेट्रोलियम पदार्थ छ।
यस अवधिमा मुुलुकले कूल २ खर्ब ६ अर्ब ११ करोड रुपैयाँ बराबरको इन्धन आयात गरेको छ। त्यसैगरी बढी आयात हुने वस्तुहरुमा फलाम तथा स्टिलको आयातमा १ खर्ब १७ अर्ब ८७ करोड, मेसिनरी औजारको आयातमा १ खर्ब ५५ करोड, सवारी साधनमा ७७ अर्ब १३ करोड, र विद्युतीय सामाग्रीहरुमा ७२ अर्ब ८४ करोड रुपैयाँ बराबरको आयात भएको छ।
त्यसैगरी, बढी निर्याततर्फ वनस्पति घ्यू ८ अर्ब ९७ करोड, कपडा ८ अर्ब २१ करोड, चियाकफी ६ अर्ब ८२ करोड, नेपाली कार्पेट ६ अर्ब ३७ करोड र फलाम तथा स्टिल ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।