काठमाडौं– युद्धग्रस्त लिवियामा फसेका १५ जना नेपाली बुधबार नेपाल आइपुगेका छन्।
राम्रो काम र कमाइको प्रलोभन देखाएर लिविया पुर्याइएका कामदार युद्धग्रस्त क्षेत्रमा अलपत्र परेसँगै उनीहरुलाई लिवियाको त्रिपोलीबाट उद्धार गरेर नेपाल ल्याइएको हो।
युद्धग्रस्त क्षेत्रमा पुगेर त्रासमा काम गर्न बाध्य नेपाली कामदारहरुलाई इजिप्टको कायरोस्थित नेपाली दूतावास, अन्तर्राष्ट्रिय आप्रवासी संघठन (आइओम), लिवियाली प्रहरी र नेपाली शान्ति सेनाको टोलीले उद्धार गरी आइएमओको क्याम्पमा राखिएको थियो।
उद्धार गरिएका सबै १५ नेपालीको मेडिकल जाँच तथा नेपाल फिर्तीका सबै कागजपत्र तयार भएपछि उनीहरुलाई नेपाल पठाइएको हो। उनीहरु लिवियाबाट टर्की हुँदै बुधबार बिहान ८ बजे काठमाडौं आइपुगेको लिवियाबाट अलपत्र परेर फर्किएका गणेश थापा मगरले जानकारी दिए।
नेपाल फर्किनेहरुमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की छन्।
सबै कामदारहरुलाई आइओएमले नै शरण दिएको र नेपाल फर्किन हवाई टिकटसमेत उपलब्ध गराएको इजिप्टस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
दुई हप्ता पहिले पनि दूतावासकै अग्रसरतामा ७ नेपालीलाई उद्धार गरेर नेपाल पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।