काठमाडौं– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदार्थ साहको निधन भएको छ। ८५ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंमा उपचारका क्रममा उनको निधन भएको हो।
अध्यक्ष साह लामो समयदेखि मुटु र दमसम्बन्धी रोगबाट पीडित थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही समयदेखि काठमाडौंमा राखेर उपचार गराइएको थियो।
अस्पतालमा स्वास्थ्यमा केही सुधार भएपछि मंगलबार मात्रै उनलाई कोठामा ल्याएर राखिएको थियो। तर, बुधबार बिहान अचानक हृदयाघात हुँदा उनको निधन भएको छोरा दिलीपले जानकारी दिए। साहको पार्थिव शरीर आजै गृहजिल्ला सर्लाही ल्याउन लागिएको छ। पारिवारिक स्रोतका अनुसार अहिले साँझसम्म अन्तिम संस्कार गर्ने तयारी गरिएको छ।
साह ०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
नेपाली कांग्रेसले साहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टी सभापति गगन थापाले उनको निधनबाट एक अनुभवी तथा अग्रज व्यक्तित्व गुमाएको जनाएका छन्।
कांग्रेसका अनुसार साहले पार्टीको संगठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
पार्टी सभापति थापाले साहको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, उनले शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।