साेल- दक्षिण कोरियास्थित नेपाली दूतावासको 'मानसिक स्वास्थ्य परामर्श कार्यक्रम' प्रभावकारी बन्दै गएको तथ्याङ्कले देखाएको छ। यहाँ विकराल बन्दै गएको आत्महत्याको शृङ्खला घट्दै गएको पाइएपछि उक्त कार्यक्रम प्रभावकारी बनेको निष्कर्षमा दूतावास पुगेको हो।
गत वर्ष सुरुवाती ९ महिनाको अवधिमा ६ जनाले आत्महत्या गरेको दूतावासको तथ्याङ्क छ। त्यसपछि दूतावासले देशका विभिन्न स्थानमा परामर्श कार्यक्रमहरु सञ्चालन गरेको थियो। त्यसयता पछिल्ला ८ महिनाको अवधिमा आत्महत्याको घटना एउटा मात्र भएको दूतावासले जनाएको छ।
कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बास्तोलाले पछिल्ला ८ महिनामा आत्महत्या न्यूनीकरणमा दूतावासको सक्रियताले काम गरेको दाबी गर्छन्। उनी थप्छन्, ‘गत वर्षदेखि हालसम्म हेर्दा धेरै सुधार भएको देखिन्छ, यसमा दूतावासको मात्र भन्दा पनि यहाँ क्रियाशील नेपाली संघसंस्थाहरुको पनि उत्तिकै भूमिका छ।’
कोरियामा आत्महत्याको मूख्य कारण 'डिप्रेसन' भएको निष्कर्ष निकालेर दूतावास पछिल्लो समय मानसिक परामर्शमा केन्द्रित भएको थियो। जसका कारण नै सकारात्मक नतिजा पाइएको बास्तोलाकाे दाबी छ।
'डिप्रेसन' नै आत्महत्याको मूख्य कारण भएकाले आफूहरु सोही समस्या समाधानमा केन्द्रित हुँदै आएको उनको भनाइ छ। डिप्रेसनको गम्भीर समस्या देखिएका बिरामीलाई परिवारको माया नै मूख्य औषधि रहेको भन्ने डाक्टरहरुको सल्लाहअनुसार स्वदेश पठाउने गरिएको दूतावासले जनाएको छ।
'कतिपय डिप्रेसनका गम्भीर बिरामीलाई नेपालस्थित परिवारको साथमा पठाउँदा आत्महत्याजस्ता समस्याहरु न्यूनिकरणमा सहयोग पुगेको निष्कर्ष निकालेका छौँ,' बाँस्तोलाले भने।
कतिपय सरकारी काम कारबाहीहरुमा प्रक्रियागत रुपमा ढिलाइहरु हुने गरे पनि जटिल समस्यालाई केन्द्रमा राखेर आफूहरु निरन्तर लागिरहेको उनको भनाइ छ।
पछिल्लो ११ वर्षको अवधिमा इपियसमार्फत कोरिया पुगेका ४६ जना कामदारले आत्महत्या गरेको तथ्याङ्क छ। अघिल्ला वर्षहरुको तुलनामा यो वर्षको परामर्श कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस्ता किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिइने दूतावासको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।