काठमाडौं– वैदेशिक रोजगारीका लागि साउदी पुगेका नेपाली कामदारको न्यूनतम पारिश्रमिक १३ सय रियाल हुनुपर्ने साउदीस्थित विभिन्न क्रियाशील निकायहरुले दूतावासको ध्यानाकर्षण गराएका छन्।
सरकारले साउदीमा नेपाली कामदारको न्यूनतम तलब र सेवा सुविधा तोकी कामदारको माग प्रमाणीकरणको जिम्मा साउदीस्थित नेपाली दूतावासलाई दिए पनि काम प्रभावकारी नभएको भन्दै क्रियाशील निकायहरुले ध्यानाकर्षण गराएका हुन्। यसअघि आप्रवासी नेपाली कामदारका विषयमा नेपाल सरकारले साउदी अरबमा काम गर्ने कामदारको कामको समय दैनिक ८ घन्टा र न्यूनतम तलब १३ सय रियाल हुनुपर्ने निर्णय गरेको थियो।
साउदीस्थित कम्पनीबाट कामदारको माग भएमा सो अनुसारको सेवासुविधा भए/नभएको अनुगमन गरेर मात्रै नेपाली कामदारको डिमान्ड प्रमाणीकरण गर्नुपर्ने जिम्मा सरकारले दूतावासलाई प्रदान गरेको थियो।
तर, सो निर्णय अनुसार दूतावासले जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै साउदीस्थित गैरआवासीय नेपाली संघ (एनआरएन), प्रवासी नेपाली एकता मञ्च, नेपाल जनसम्पर्क समितिले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएका हुन्।
दूतावासले नेपाली कामदारको हकहितलाई ध्यानमा राख्दै कामको लागि सुरक्षित र मर्यादित वातावरण सिर्जना गर्न पहल गर्नुपर्ने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदीका अध्यक्ष नारायण पासवनले जानकारी दिए।
![](https://nepallive.com/uploads/files/r.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।