काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २० कराेड निकासा नगरेपछि राेकिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण कार्य पुनः सुचारु हुने भएकाे छ।
रकम अभावमा काम राेकिएकाे भन्दै आइतबार समाचार प्रकाशन/प्रशारण भएपछि अर्थ मन्त्रालयले आइतबार रातिनै विभिन्न शिर्षकबाट रकममान्तर गरि ७० कराेड निकासी गरेकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले रकम निकासीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका फाइल पठाए पनि रकम निकासी नभएको भन्दै निर्माण कम्पनीले काम रोकेको थियाे। चिनियाँ ठेकेदार 'नर्थ वेस्ट सिभिल एभिएसन'ले रकम अभावले काम रोकेको आयोजना निर्देशनालयले जनाएको थियाे।
प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवको आयोजन निर्देशनालय स्रोतका अनुसार निर्माण कम्पनीले १९ दिन अगाडिदेखि काम ठप्प पारेको थियाे।
मन्त्रालयलमा प्राधिकरणले समयमै रकम निकासीका लागि फाइल पठाए पनि मुख्य लगानीकर्ता एडिबीसँग स्वीकृति लिन ढिलाई गर्दा समस्या आएको आयोजना निर्देशनालयको भनाइ छ।
रकम निकासी रोकिएसँगै रन-वे पिचको काम अन्तिम समयमा आएर रोकिएको छ। निर्माण कम्पनीले बैसाखभित्रै रन-वे पिचको काम सक्ने गरी काम गरिरहेको थियाे। रकम निकासा भएसँगै अब काममा तीब्रता आउने आयाेजनाले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।