काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन विदेशी नागरिकप्रति झन् कठोर बनिरहेको छ । उनको दोस्रो राष्ट्रपतीय शासन सुरु भएयता ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार यस्तो विवरण सार्वजनिक गरेको छ । जनवरी २०२५ देखि हालसम्म त्यति सङ्ख्यामा भिसा रद्द गरेको पाइएको छ ।
कानुन उल्लङ्घन, ठगी र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कडा कारबाही गरिरहेको अमेरिकी सरकारको दाबी छ ।
मानवअधिकारवादीहरूले भने अमेरिकी सरकारको कदमको विरोध गर्दै आएका छन् । उनीहरूले उचित कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भएको भन्दै आलोचना गरेका छन् । विशेषगरी गाजामा इजरायली आक्रमणको विरोध गर्ने प्यालेस्टाइन समर्थक विदेशी नागरिकको भिसा रद्द गरिएको घटनाप्रति अधिकारकर्मी चिन्तित छन् ।
ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण र भिसा जाँचमा कडाइ गरेपछि कानुनी रूपमा अमेरिका जान चाहने विदेशी नागरिकसमेत प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । साथै, अमेरिकी भिसाका लागि ठूलो धनराशि जम्मा गर्नुपर्ने नयाँ प्रावधानले भिसा नीति अझ कठोर हुने सङ्केत गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।