काठमाडाैं- टयाक्सी व्यवसायी तथा चालकहरुले ट्याक्सीको भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिन सुरु गरेका छन्।
उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले तत्काल टयाक्सीको भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिएका हुन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ७ वर्षयता यति धेरै मूल्य वृद्धि हुँदा पनि सरकारले टयाक्सीको भाडा दर समायोजन नगरेको भन्दै आपत्ति जनाए।
महासचिव मोक्तानले ट्याक्सी चालकहरुलाई प्रशिक्षण दिने व्यवस्था गर्न टयाक्सी व्यवसायीहरुको पनि ध्यानाकर्षण गराए। टयाक्सी व्यवस्थापनका लागि पनि सरकारले उचित व्यवस्था गर्नुपर्ने पनि टयाक्सी व्यवसायी तथा चालकहरुको माग छ।
कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले टयाक्सीको भाडा दर समायोजनमा ढिलाई नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनले टयाक्सी व्यवसायीहरुलाई मापदण्ड भित्र रहेर मात्रै टयाक्सी सञ्चालन गर्न पनि सचेत गराए। ‘टयाक्सीको भाडा दर समायोजनसम्बन्धी समस्या तत्काल समाधान हुन्छ,’ महानिर्देशक दाहालको भनाइ थियो, ‘तर टयाक्सी व्यवसायीहरुले मापदण्ड भित्र रहेर टयाक्सी सञ्चालन गरिदिनु पर्यो।’
यातायात व्यवस्था विभागले टयाक्सीको वैज्ञानिक भाडा दर निर्धारण गर्न समितिनै बनाएर कामलाई अघि बढाएको दाबी गर्दै आएको छ।
यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरे। उनले टयाक्सी चालक तथा व्यवसायीहरुले पनि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उनकाे भनाइ थियाे। ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा लागि परिरहेकाले उनीहरुमाथि अभद्र व्यवहार नगर्न पनि एसएसपी पन्तले सबैलाई आग्रह गरे।
कार्यक्रममा ‘इजी टयाक्सी नेपाल’ एप्स पनि सार्वजनिक गर्ने जानकारी दिइएको थियो। उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजले सार्वजनिक गर्ने सो एप्सले टयाक्सी सेवालाई सहज बनाउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।