काठमाडौं- सरकारले नीतिगत तथा कानुनी व्यवस्था नगरेकै कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बताएका छन्।
लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रले सरकारसँग माग गर्दै आएको तर वास्तविक प्रगति भने हुन नसकेको अग्रवालले बताएका हुन्।
संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि-बजेट’ छलफल कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याए।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिए।
उनले कृषि क्षेत्रले तत्काल लाभ दिने भएकाले पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा त्यसका लागि आवश्यक जमिनको उचित व्यवस्था हुने प्रबन्ध पनि गर्नुपर्ने स्पष्ट पारे।
महासंघले बैंकको उच्च ब्याजदर घटाएर उद्योगमैत्री वातावरण बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।