काठमाडौँ- सरकारले हालै चीनसँग भएको यातायात तथा पारवहन प्रोटोकल (कार्यविधि)माथि भएको सम्झौतालाई कार्यन्वयनमा अघि बढाउन विशेषज्ञसहितको नेपाली टोली चीन पठाउने तयारी गरेको छ।
सम्झौताबारे जानकारी दिन मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले यस्तो जानकारी दिएका हुन्।
अधिकारीले नेपाल सरकारको तर्फबाट चीनमा रहेका सुक्खा बन्दरगाह र सामुन्द्रिक बन्दरगाहबाट समान छुटाउने र आयत गर्ने प्रक्रिया, आवश्यक पर्ने कागजात, ढुवानी खर्च, दुरी र समय, अध्ययन गर्न विशेषसहितको टोली चीन पठाउन लागेको बताए।
‘मन्त्रालयबाट दुई टिम परिचालन हुँदैछन्,’ उनले भने, ‘त्यो टीम हामी दुई/हप्ताभित्रै चीन पठाउँछौं। उहाँहरुल दुई/तीन हप्तापछि प्रतिवेदन बुझाउनुहुन्छ। प्रतिवेदन बुझेपछि थप छलफल गरेर अघि बढ्छौं।’
उनले प्रोटोकल कार्यान्वयनका लागि दुई वटा समिति पनि बनाएको जानकारी दिए। नेपालका तर्फबाट मन्त्रालयका सचिव र चीनका तर्फबाट यातायात मन्त्रालयका उपमन्त्री स्तरमा संयुक्त परामर्श संयन्त्र बनाइएको उनले बताए।
यो संयन्त्रले प्रोटोकलको कार्यान्वयनको अवस्थाका बारेमा पुनरवलोकन गर्नेछ।
त्यस्तै मन्त्रालयका सहसचिव र चीनको यातायात मन्त्रालयका महानिर्देशक स्तरमा प्राविधिक विषयमा वार्ता गर्न संयुक्त परामर्श उपसमिति बनाएको समेत उनले जानकारी दिए।
सचिव नेतृत्वको संयन्त्रको बैठक वार्षिक रुपमा बस्ने छ भने उपसमितिको बैठक भने आवश्यक परेको खण्डमा कुनै पनि बेला बस्न सक्नेछ।
पहिलोपल्ट चीनको राजकीय भ्रमणका निस्केकी राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँगको द्विपक्षीय वार्तापछि गत १६ गते यातायात तथा पारवहन प्रोटोकल (कार्यविधि)मा हस्ताक्षर भएको थियो।
नेपालले अब चीनका सबै खुला सामुद्रिक बन्दरगाह प्रयोग गर्न सक्नेछ। तत्कालका लागि भने तियान्जेन, सेनजेन, लियानयुंगाङ र झाङजियाङ गरी चारवटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्नेछ।
त्यस्तै नेपालले चीनका सबै सुख्खा बन्दरगाह पनि प्रयोग गर्न सक्ने भएको छ।
हाललाई भने लान्जाओ, ल्हासा, र सिगात्से सुख्खा बन्दरगाह प्रयोग गर्न सक्नेछ।
सम्झौताले रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङ्चुङगोला गरी ६ वटा नाकामार्फत् ढुवानी गर्न सक्ने अवस्था पनि सिर्जना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।