काठमाडौं- निर्वाचन पर्यवेक्षण संस्था स्कोप नेपालले मंसिर १० गते भएको पहिलो चरणको निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ।
विभिन्न जिल्लाको निर्वाचन पर्यवेक्षणपछि विज्ञप्ति जारी गर्दै स्कोप नेपालले पहिलो चरणको मतदानमा मतदाताको उत्साहजनक सहभागिता रहेको जनाएको छ।
दोलखा, धादिङ, रुकुम, बाजुरा, बझाङ, सिन्धुपाल्चोकका केही मतदान केन्द्रमा निर्वाचनका क्रममा विवाद तथा झडपपछि हवाइफायरसम्म भएको उल्लेख गर्दै स्कोपले वृद्धवृद्धा, अपाङ्गता र अशक्त भएका व्यक्तिका लागि सहजतापूर्वक मतदानको व्यवस्था नगरेको पाइएको उल्लेख गरेको छ।
‘तुलनात्मक रुपमा युवा मतदाताको उपस्थिति कम देखिए तापनि पहिलो पटक मतदान गर्ने अवसर पाएका युवा मतदातामा भने उत्साहका साथ सहभागी भएको देखियो। केही मतदान केन्द्रमा चिसो र हुस्सुका कारण निर्धारित समयभन्दा केही ढिलो गरी मतदान सुरु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ।
निर्वाचन प्रक्रियामा संलग्न अधिकारीले निर्वाचनमा उपलब्ध सामग्रीका कारण असहजता भएको गुनासो गरेको पाइएको उल्लेख गर्दै संस्थाले मतपेटिका सानो र अपर्याप्त हुँदा व्यवस्थापनामा कठिनाइ भएको समेत भेटिएको बताएको छ।
अधिकांश मतदान केन्द्रको व्यवस्थापन र सुरक्षा व्यवस्था राम्रो पाइएको तर पर्याप्त जनशक्ति नहुँदा निर्वाचन प्रक्रियामा केही असहजता भएको संस्थाका अध्यक्ष अभयराज जोशीद्वारा विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।