बाजुरा- बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङ्गपानी मतदान केन्द्रका अधिकृत प्रेमराज गिरी सम्पर्कविहीन भएका छन्।
पोरखे लेकबाट उनी सोमबारदेखि सम्पर्कमा नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाटै सम्पर्कविहीन भएका हुन्।
गिरी प्रधानमन्त्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन्। उनले मदिरा सेवन गर्ने भएकाले कतै होटलमा बसेको हुन सक्ने प्रहरीको अनुमान छ।
पोरखे लेकसम्म मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उनी सम्पर्कविहीन भएको अन्य सहयोगी कर्मचारीले बताएका छन्। गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि बुझाउन बाँकी रहेकाले कार्यालयबाहिरै राखिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।