इनरुवा- सुनसरीको कोशी गाउँपालिका–३ मा आज जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका सरदारद्वयलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले आक्रमण गर्दा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।
उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको छ।
हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन्। उनको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सरदारको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।