अत्तरिया- उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले कम्युनिष्ट गठबन्धनले आम नेपाली जनतामा त्रास बढाएको बताएका छन्।
कांग्रेस र राप्रपाले कैलालीको क्षेत्र नम्बर ४ अत्तरियामा सोमबार आयोजना गरेको संयुक्त चुनावी सभामा अध्यक्ष थापाले कुनै पनि दल एकीकरण हुनु ठूलो कुरा नभए पनि वाम गठबन्धन भने अप्रत्याशित रहेको टिप्पणी गरेका छन्।
उनले भने, 'संसदीय लोकतान्त्रिक पद्धति नै समाप्त पार्ने उद्देश्यले निर्माण भएको वाम गठबन्धन अस्वाभाविक र अप्रत्याशित छ।'
उपप्रधानमन्त्री थापाले आसन्न निर्वाचन लोकतान्त्रिक पक्षधर शक्ति तथा कम्युनिस्ट गठबन्धनमध्ये कसलाई छान्ने भन्ने चुनाव भएको समेत बताए।
‘यो निर्वाचन आगामी पाँच वर्षसम्म कुन पार्टीलाई शासनसत्तामा पुर्याउने भन्ने मात्रै होइन’ उनले भने, 'यो आगामी दिनमा नेपालमा कुन शासन प्रणाली राख्ने भन्ने निर्वाचन हो।'
थापाले लोकतन्त्र, राष्ट्रियता र समृद्धिका पक्षमा मतदान गर्न सबैलाई आग्रह गरे।
सभालाई सम्बोधन नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले वाम गठबन्धनबाट नेपालको जातीय, धार्मिक, सांस्कृतिक, भाषिक तथा क्षेत्रीय विविधताको रक्षा हुन नसक्ने बताए।
'वाम गठबन्धन नेपालको लोकतान्त्रिक राज्य प्रणाली, राष्ट्रियता र आर्थिक समृद्धिका लागि संकटका रूपमा निर्माण भएको हो', उनले भने, 'लोकतान्त्रिक प्रणाली र शक्तिहरूबाट मात्रै विविधतालाई एकताको सूत्रमा बाँधिराख्न सम्भव हुन्छ।'
सभामा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार आरजु राणा देउवा, क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारी लगायतले मन्तव्य राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।