दुनै, डोल्पा- डोल्पाका ६६ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका २० मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट मंसिर १३ गते मात्र सदरमुकाम ल्याइने भएको छ।
मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले मंगलबार उपल्लो डोल्पाका २० वटै मतदान केन्द्रका मतपेटिका ओसार्न अनुरोध गरिए पनि जाजरकोट, कालीकोट, ताप्लेजुङलगायत संवेदनशील क्षेत्रका मतपेटिका पहिला ओसार्ने र त्यसपछि बुधबार मात्र उपल्लो डोल्पाका मतपेटिका ओसार्ने जानकारी सेनाले दिएको बताए।
अहिलेसम्म २७ मतदान केन्द्रका मतपेटिका सदरमुकाम दुनैमा ल्याइपुर्यारइएको र तल्लो डोल्पाका विभिन्न मतदान केन्द्रका मतपेटिका पनि ल्याउने क्रम जारी रहेको उनले जानकारी दिए।
धादिङ– विकट उत्तरी धादिङबाट समेत मतपेटिका नेपाली सेनाको हेलिकोप्टरको प्रयोग गरेर धादिङबेंसी सदरमुकाम ल्याइएको छ।
जिल्लाका २७५ मतदान केन्द्रका ८२५ मतपेटिका सदरमुकाम ल्याइएको प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिए। उत्तरको अति विकट मानिएको रुबीभ्याली गाउँपालिका–८ मतदानस्थल, खनियाबास गाउँपालिकाका दुई मतदानस्थल र गंगाजमुना गाउँपालिकाका दुई मतदानस्थलका १७ मतदान केन्द्रका ५१ मतपेटिका आज हेलिकोप्टरले सदरमुकाम ल्याएको हो।
दार्चुला– मतपेटिका जिल्ला सदरमुकाम खलंगास्थित कर्मचारी आवास भवनमा ल्याइएको छ।
विकट ठाउँ व्यास गाउँपालिकाकाको मतदान केन्द्रका मतपेटिका भने मंगलबार हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइने निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।
ताप्लेजुङ– अति विकट क्षेत्रमा पर्ने मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको छ।
अतिविकट क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका–६ मा पर्ने ग्याब्ला प्रावि, घुन्सा मावि र सोही गाउँपालिका–७ को वडा कार्यालय गोला र याङ्मा आधारभूत विद्यालय केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सोमबार अपराह्न सदरमुकाम फुङलिङ ल्याइएको हो।
जिल्लाका १ सय १४ केन्द्रमध्ये सोमबार साँझसम्म ८७ ठाउँका मतपेटिका आइसकेको र अन्य ठाउँका मतपेटिका पनि आउने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।