बुटवल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ साल वामपन्थीमय हुने निश्चित भएको बताएका छन्।
एमाले नेतृत्वमा बनेका छोटो समयका अल्पमतको सरकारले धेरै जनपक्षीय काम गरेर जनताको मन जितेको भन्दै अध्यक्ष ओलीले त्यसैको प्रभावले चुनावबाट यो वर्ष देश वामपन्थीमय हुने दाबी गरे।
रुपन्देही क्षेत्र नम्बर ५ अन्तर्गत रुद्रपुरको हरैयामा सोमबार आयोजित चुनावी सभामा ओलीले निर्वाचनपछि मुलुकमा वामपन्थीको जनपक्षीय र स्थिर सरकार बन्ने निश्चित भएकाले जनतामा अहिले उत्साह देखिएको बताए।
'अब बन्ने सरकार साधारण बहुमतको होइन, दुई तिहाइसहितको बहुमतको बन्नेछ', उनले भने।
अध्यक्ष ओलीले राष्ट्रिय भावनाको हिसाबले लुम्बिनीको विकास गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले यसले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय विकासमा कायापलट गर्ने बताए।
सभामा माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपालमा अब छिटै कम्युनिस्टहरुबीच एकता हुन लागेको भन्दै नेपालको इतिहासमा यसलाई ठूलो घटनाको रुपमा लिइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।