म्याङलुङ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरुलाई चुनावमा बहुमत दिए नेपालमा फेरि चुनाव नै नहुने बताएका छन्।
तेह्रथुमको सदरमुकाम म्याङलुङमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कम्युनिस्टहरुको अधिनायकवाद रोक्न र लोकतान्त्रिक संविधान र शासन पद्धति जोगाउन कांग्रेसलाई जिताउनुपर्ने बताए।
सभापति देउवाले भने, 'कांग्रेसले हारे लोकतन्त्रले हार्छ र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउनेछ। त्यसैले यो चुनाव कांग्रेसले जित्न आवश्यक छ।'
उनले वाम गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने योजना सार्वजनिक गरिसकेको समेत आरोप लगाए।
सभालाई सम्बोधन क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गरे।
उनले कम्युनिस्ट एकता प्रचण्डको जंगबहादुर बन्ने र ओलीको राजा महेन्द्र बन्ने इच्छाको प्रतिफल भएको आरोप समेत लगाए।
‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन’, नेता पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।