भक्तपुर- सरकारले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित ऐतिहासिक रानीकोट गढी दरबारको उत्खनन कार्य सुरु गरेको छ।
सूर्यविनायक नगरपालिका र रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको आग्रहमा पुरातत्व विभागले रानीकोट गढीको उत्खनन कार्य थालेको हो। मल्लकालमा निर्माण गरिएको रानीकोट गढी दरबार हाल भग्नावशेषका रुपमा परिणत भएको छ।
उत्खनन कार्यको आइतबार शुभारम्भ गर्दै पुरातत्वविद् तारानन्द मिश्रले गढीको प्रारम्भिक अवलोकनले यस क्षेत्र मल्लकालीन दरबार भएको स्पष्ट भएको बताए। उत्खननबाट प्राप्त वस्तुको पुरातत्व विभागले थप अध्ययन र अनुसन्धान गरी आवश्यक संरक्षण गर्नुपर्ने बताउँदै उनले गढी दरबारको सतहमा देखिएका इँटा, झिँगटी लगायतका सामग्रीले हेर्दा पनि दरबार रहेको पुष्टि भएको बताए।
इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले दरबार क्षेत्रमा बाघ भैरव, रानीले नुहाउने रानी कुँवा, ध्याम्पे डाँडा, डोलेश्वर, अनन्तलिङ्गेश्वर मन्दिर आसपासमा हुनु र केही समय अघि फेला परेको नवपाषण हतियारले रानीकोट गढी दरबार मल्लकालीन दरबार भएको पुष्टि भएको जानकारी दिए।
रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको पहलमा दुई वर्षअघि दरबारसम्म पुग्नका लागि पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा १४ सय सिँढी निर्माण भइसकेका छन्। यस क्षेत्रमा जैविक विविधता कायम राख्न, लोपोन्मुख जनावर, बाघ, मृग, सालक, कालीज, तित्रा, खरायो दुम्सी बँदेल, बट्टाई, लामापुछ्रे चरा पंक्षी तथा जंगली जनावर पाइन्छन्।
रानीकोट दरबारको आसपासमा राष्ट्रिय प्राणी उद्यान, तत्कालीन मल्कालमा रानीले नुहाउने कुवा, घ्याम्पे डाँडा, पाइलटबाबा आश्रम लगायतका महत्वपूर्ण पर्यटकीय स्थान रहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।