जाजरकोट- यहाँका सबै मतदान केन्द्र र स्थलबाट मतपेटिका सदरमुकाम ल्याउने काम सुरु भएको छ।
जिल्लाका जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका र शिवालय गाउँपालिकाका केही वडा सदरमुकामभन्दा धेरै टाढा हुनुका साथै सडक सञ्जालसँग नजोडिएका कारण यहाँबाट मतपेटिका सदरमुकाम ल्याउन ढिला हुने देखिएको छ।
सडकको पहुँच नभएका ठाउँमा हेलिकोप्टरमार्फत सदरमुकाम ल्याउनका लागि आग्रह गरिएको र मंगलबार दिउँसोसम्ममा सबै मतपेटिका सदरमुकाम ल्याइने जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। सडक सञ्जालसँग जोडिएका छेडागाड नगरपालिका, भेरी नगरपालिका, त्रिवेणी नलगाड नगरपालिकाबाट मतपेटिका सदरमुकाम ल्याउने काम जारी रहेको छ।
गएराति अध्याँरो र चिसोका कारण मतपेटिका प्रहरी चौकीसम्म ल्याउने काम भएको र आज सदरमुकाम ल्याउने काम हुने जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए।
आइतबार रातिसम्म १४ स्थलको मात्र मतपेटिका सदरमुकाम आइपुगेको छ। ११६ वटा मतदान केन्द्र र ८५ वटा स्थलमा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको जाजरकोट प्रहरीले जनाएको छ।
बेलुका ८ बजेदेखि बिहान ८ बजेसम्म यहाँका गाउँमा रहेका टेलिफोन टावरले काम नगर्ने भएका कारण सूचना संकलन गर्न समस्या हुने गरेको छ। जाजरकोटमा ७२.२२ प्रतिशत भोट खसेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए। स्थानीय तहमा भएको चुनावभन्दा यसपटकको चुनावमा मतदातामा उत्साह कम देखिएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।