बेँसीसहर, लमजुङ- लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन्।
मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल¬–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन्।
बिहान ७ बजेदेखि सुरु भएको शान्तिपूर्ण निर्वाचनमा राजनीतिक आस्थाको आधारमा मतदातालाई हस्ताक्षर बिनाको मतपत्र दिएको भन्दै उजुरी परेपछि उनी कारबाहीमा परेका हुन्। न्यौपानेले कांग्रेस पक्षधर मतदातालाई हस्ताक्षर नगरी मतपत्र दिएका थिए।
मतदानका क्रममा स्थानीय मतदाताले मतपत्रमा हस्ताक्षर नदेखेपछि उजुरी गरेका थिए। त्यसअघि २ सयभन्दा बढीले मतदान गरिसकेको जनाइएको छ। न्यौपानेले ४० भन्दा बढी मतपत्रमा हस्ताक्षर नगरेको अनुमान गरिएको छ।
सोही विषयमा विवाद भएपछि स्थानीय राजनीतिक दल र निर्वाचन अनुगमन समितिको बैठक बसी मतदान अधिकृतलाई जिम्मेवारीमुक्त गरिएको छ। सो मतदान केन्द्रमा खटिएका सहायक निर्वाचन अधिकृतलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए।
मतदान केन्द्रमा विवाद भएपछि दुई घन्टाभन्दा बढी मतदान रोकिएको थियो। १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेको लमजुङमा अन्य स्थानमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।