सोलुखुम्बु- यसअघि स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचन बहिस्कार गरेका सोलुखुम्बुको साबिक तिंला गाविसवासीले आज पनि मतदान बहिस्कार गरेका छन्।
तिंलामा रहेका ५ वटै मतदान केन्द्रमा मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि अहिलेसम्म कोही पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेका हुन्।
यसबेलासम्म सुरक्षित रुपमा मतदान कार्य भइरहेको र सुरक्षा अवस्था मजबुत रहेको प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले जानकारी दिए।
सोलुखुम्बुका अन्य केन्द्रमा भने बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ। जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए।
जिल्लाको सदरमुकाम लगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्युन देखिएको थियो। चिसो धेरै भएका कारण मतदाताको उपस्थिति कम रहे पनि क्रमशः बाक्लिँदै गएको र दिउँसो चाप बढ्ने खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।