राजविराज- स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचारप्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।
राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावीसभामा उपस्थित जनसमुदायलाई 'कोठली बाहर मतदान करु' (मतपत्रको कोठाबाहिर मतदान गर) भन्दै सिके राउतको पर्चा वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।
यसैबीच स्वच्छ एवम् भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरी जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयका अनुसार सप्तरीमा कुल २९५ मतदानस्थलमध्ये २०७ वटा अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ।
सप्तरीमा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।