काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पहिलो चरण अन्तर्गत आज ३२ जिल्लामा मतदान सुरू भएको छ। हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। मतदानका लागि बिहान ७ बजे अघिदेखि नै मतदाता आफ्नो निर्वाचन केन्द्रमा जम्मा हुन थालिसकेका थिए।
साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ सिट र प्रदेशसभाका लागि ७४ सिटमा निर्वाचन हुन लागेको हो।
दोस्रो चरण अन्तर्गत मंसिर २१ मा बाँकी ४५ जिल्लामा मतदान हुनेछ। आज भइरहेको निर्वाचनमा प्रतिनिधिसभाका ३७ सिटमा २ सय ८२ र प्रदेश सभाका ७४ सिटमा ४ सय २० जना बीच प्रतिस्पर्धा हुँदैछ।
कुल १ सय ११ पदका लागि ७ सय २ उम्मेदवार प्रतिस्पर्धामा छन्।
पहिलो चरणमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले भाग लिनेछन्। उनीहरूका लागि २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्रको व्यवस्था गरिएको छ।
पहिलो चरणको मत गणना पनि २१ गते हुने दोस्रो चरणको निर्वाचन पछि नै गरिने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।