हेटौंडा- मकवानपुरको मनहरि गाँउपालिकाको मनहरिबजारको मुख्य चोकमै रहेको प्रतीक्षालयमा शनिबार साँझ सुतली बम विस्फोट भएको छ।
साँझ ५ बजेतिर भएको विस्फोटबाट प्रतीक्षालयको टिनको छानामा केही प्वाल परेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरि र सशस्त्र प्रहरी बेस क्याम्प लच्काका प्रहरी घटनास्थल पुगेका थिए।
समय मिलाई सानो आकारको सुतली बम बनाएर प्रतीक्षालयमा राखिएको पाइएको इलाका प्रहरी कार्यालय प्रहरी मनहरिका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए।
निर्वाचन बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उम्मेदवारलाई लक्ष्य गरी विस्फोट गराएको आशंका गरिएको छ। शनिबार अपराह्न वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैले मनहरिमा कार्यक्रम गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।