नुवाकोट- निर्वाचन आयुक्त इला शर्माले मौन अवधिमा पनि सामाजिक सञ्जालमार्फत भइरहेका चुनावी प्रचारप्रसारप्रति आयोगको ध्यान गएको बताएकी छिन्।
नुवाकोटको सदरमुकाम विदुरमा शनिबार आयोजित कार्यक्रममा आयुक्त शर्माले सामाजिक सञ्जाल अनुगमन गर्न आयोगको टोली पनि सक्रिय रहेको बताइन्। उनले निर्वाचन तथा सुरक्षा अधिकारीलाई आइतबार हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गराउन निर्देशन समेत दिइन्।
आयुक्त शर्माले निर्वाचन सम्पन्न गराउन सञ्चारकर्मीले पनि आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने बताइन्।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश लोकजंग शाहले नुवाकोटमा आचारसंहिता उल्लंघनका १२ उजुरी परेकामा छानबिन र कारबाही प्रक्रिया अघि बढाइएको बताउँदै मतदानका दिन दुई निर्वाचन क्षेत्रमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा चार अनुगमन टोली परिचालन गरिने जानकारी दिए।
निर्वाचन आयुक्त शर्माले शनिबारै धादिङ पुगेर निर्वाचन तयारीबारे जानकारी लिएकी छिन्। उनले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलगायतसँग छलफल गर्दा निर्वाचन स्वच्छ र भयमुक्त वातावरणमा हुने विश्वास व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।