धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रणबहादुर शाहीले मौन अवधिमा दलित बस्तीमा गएर कांग्रेस उम्मेदवारलाई भोट हाल्न दबाव दिएका छन्।
स्थानीय तहको चुनावमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित शाहीले ज्वालामुखी गाउँपालिका २ काफलपानीमा एक दलित परिवारलाई कांग्रेसलाई भोट नहाले विकासबाट वञ्चित हुनुपर्ने धम्की मात्र दिएनन्, कुलोको पानी टेक्न–छुन पनि नपाउने चेतावनी समेत दिए।
वडाध्यक्षले दलित परिवारलाई दबाव दिएको अडियो रेकर्ड नै सार्वजनिक भएको छ।
शुक्रबार साँझ करिब ७ बजे काफलपानीका पदमबहादुर विक घर सल्लाह गरिरहँदा वडाध्यक्ष शाही एक सहयोगीसहित उनको घरमा प्रवेश गरे। कांग्रेस धादिङका पूर्व गाउँ सभापति समेत रहेका शाहीले औपचारिक कुराकानी सुरु नगर्दै पदमबहादुरकी श्रीमती दिलमायाको हातमा चुरोट राखिदिए र आफू आउनुको कारण सुनाउँदै भोट माग्न थाले।
वडाध्यक्ष शाहीले कुराको मेलो सुरु गर्दै भने, ‘अहिले वडामा सबै काम गर्ने मै हुँ। राहत दिने बेलामा सबै काम मैले गरेको छु। भोट दिने बेलामा चाहिँ काठमाडौंबाट आएका केटाहरुले ड्यामका ड्याम हाल्ने?’
उनले यसो भन्दै गर्दा छेउमै सुनिरहेकी पदमबहादुरकी कान्छी आमा ६० वर्षीया पूर्णमाया विक भन्दै थिइन्,‘केटाहरुले गरेको कुरा के भन्नु र!’
पूर्णमायाको कुरा खस्न नपाउँदै वडाध्यक्षले थपे, ‘यसपाली त तिमीले नै भोट हाल्नुपर्छ!’
उनले जवाफ दिइन्, ‘आफू जान्दिनँ। भुराले कता हाल्दिन्छन्।’
शाही कड्किए, ‘काम गर्ने मान्छे पनि हेर्नुपर्यो नि। एकसुको काम नगर्नेलाई भोट दिएर के हुन्छ? काम गर्ने कालु, मकै खाने भालु। यो शाही धारालाई मैले ट्यांकी बनाउन एक लाख हालिदिएका छौं। यहाँ कामीहरुले पानी खान्छ। काम हामीले गर्ने, भोट अन्तै दिने? भोट हामीलाई दिनुपर्छ। हामीले भनेको ठाउँमा दिनुपर्छ।’
पूर्णमायाले भनिन्,‘नदिने भन्या होइन, दिने नै भन्या हो। अब भुराहरुले केके गरे, कसो गरे। अहिले पनि कुन–कुन भुराले खोसेर लगे भने.. कुन कुन भुराले खोसेर लग्छन्, कता हाल्छन्।’
वडाध्यक्ष कड्किन्छन्, ‘खोसेर लगे भने यथार्थ कुरा हो, काम पनि त्यही अनुसार हुन्छ। तिमीहरुको खानेपानी पनि बन्दैन। त्यो कुलोको पानी पनि टेक्न–छुन पनि पाउँदैनौं। कुरो त्यही हो। हामीले अहिलेसम्म केही भनेको छैन। त्यही हो, भोट यसपाली कांग्रेसलाई दिनुपर्छ। शाही धारामा ट्यांकी बनाउने हो, कुलोको पानी चाहिने हो भने त्यही अनुसार काम गर्ने हेर । भ'को कुरो यथार्थ कुरो हो, यसपाली पनि तिमीहरुले भोट दायाँ–बायाँ दिने हो भने कुलोको पानी लोटाले उभाउन चाहिँ पाइँदैन। मैले भन्द्या छु, जायज कुरा हो। किनभने हामीलाई सिंचाइ चाहियो, भैंसीलाई पानी खुवाउनुपर्यो, आरानमा ‘पाइन’हाल्न पर्यो भन्न चाहिँ पाउँदैनौ। कुरो त्यही हो।’
खानेपानीको ट्यांकी बनाउन एक लाख रुपैयाँ हाल्दिएको प्रसंग जोड्दै वडाध्यक्ष शाहीले ‘राम्रोसँग काम गरे’ अर्को चोटि पनि बजेट हालिदिने आश्वासन दिएका छन्। यो कुरा सबैलाई भनेको भन्दै उनले विकासे कामका लागि कि त माओवादी वा एमालेबाट बजेट लिएर आउन समेत चुनौती दिएका छन्।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा मौन अवधिमा चुनाव प्रचार-प्रसारका कुनै पनि गतिविधि गर्न नहुने प्रावधान छ। तर, त्यसविपरीत वडाध्यक्ष शाहीले दलित बस्तीमा गएर भोट हाल्न दबाव दिएका हुन्।
काफलपानीमा गएर तपाईंले दलित परिवारलाई दबाव र धम्की दिएको हो भनेर नेपाल लाइभले सोधेको प्रश्नमा वडाध्यक्ष शाहीले भने, ‘काफलपानी मेरो घरै हो। त्यो होइन। त्यो वाहियात कुरा हो। अनर्गल कुरा हो।’
यसैबीच निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मौन समयमा यस्तो गतिविधि हुनु निन्दाजनक भएको बताएका छन्। प्रवक्ता ढकालले भने, ‘अडियो रेकर्ड पाएमा हामी निर्वाचन आचारसंहिता अनुसार अघि बढ्नेछौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।