काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले कसैको दबाबमा नपरी निर्भीकताका साथ मताधिकारको सही प्रयोग गर्न आम मतदातामा अपिल गरेको छ।
आफ्ना अधिकारबारे सचेत रहँदै मानव अधिकारमैत्री एवं निष्ठावान् जनप्रतिनिधि छनोट गरी आफ्नो अधिकारको सुनिश्चित गर्नमा अग्रसर रहन आयोगले विशेष आग्रह गरेको हो।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा शनिबार विज्ञप्ति जारी गर्दै आयोगले राजनीतिक दललाई स्वतन्त्र रुपमा निर्वाचन गतिविधि सञ्चालन गर्न र निर्भयपूर्वक मतदान गर्ने वातावरणको लागि शान्तिसुरक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रहसमेत गरेको छ।
आयोगका अध्यक्ष अनुपराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगबाट जारी भएका आचारसंहिताको पूर्ण रूपमा पालना गराउन, आचारसंहिता उल्लंघनमा संलग्न दल तथा उम्मेदवारलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन, मतदाता शिक्षा प्रभावकारी रूपमा लागू गर्न, सबै मतदाताहरूको सहज पँहुच हुने स्थान र दुरीमा मतदान केन्द्रको व्यवस्था गर्न र अपांगता भएका मतदाता, ज्येष्ठ नागरिक, सुत्केरी तथा बिरामी मतदातालाई मतदान केन्द्रमा सहज पहुँचको लागि विशेष व्यवस्था गर्न तथा पहिलो चरणमा देखिएका कमी कमजोरीहरुलाई सम्बोधन गर्न निर्वाचन आयोगलाई आग्रह गर्दछ।’
संविधानले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै बन्दहडताल, जबर्जस्ती चन्दा असुली, राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग लगायतका निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न/नगराउन आयोगले राजनीतिक दलसँग आग्रह गरेको छ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहीत र निष्पक्ष रुपमा सम्पन्न गरी नागरिक तथा राजनीतिक अधिकारहरुको पूर्ण सम्मान र संरक्षण गर्न सरोकारवाला निकायसँग विशेष अपील गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।