म्याग्दी- प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउनका चुनावमा खटिएका कर्मचारी मतदानस्थल र केन्द्रमा पुगेका छन्।
निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्री लिएर कर्मचारी म्याग्दीका सबै मतदान केन्द्रमा पुगिसकेको र निर्वाचनको तयारीमा लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतदानस्थल र मतदान केन्द्रमा पुगेका कर्मचारीले सर्वदलीय, सर्वपक्षीय बैठकको आयोजना गरी निर्वाचनको कामलाई अगाडि बढाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी खेमराज पाठकले जानकारी दिए। उनका अनुसार निर्वाचनमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गरेका छन्।
निर्वाचन सम्पन्न गराउनका १०६ जना मतदान अधिकृत, १०६ सहायक मतदान अधिकृत, ४२३ सहायक कर्मचारी, २१२ कार्यालय सहयोगीसहित सुरक्षाकर्मीबाहेक कुल ८४७ जना कर्मचारी खटिएका छन्। यसैगरी ४२२ जना स्वयंसेवक मतदान अधिकृतले नियुक्ति गर्नुपर्ने प्रावधान छ।
निर्वाचनका लागि म्याग्दीमा सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताइन्। अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलको आधारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र म्यादी प्रहरी परिचालन गरिएको छ।
प्रदेश नम्बर ४ मा पर्ने म्याग्दीमा पहिलो चरण अन्तर्गत भोलि मतदान हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।