बेनी, म्याग्दी- प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीका दुई मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ।
अशक्त तथा अपांगता भएकालाई मतदान गर्न सहज होस् भनेर दुई मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको हो। बेनी नगरपालिकास्थित बेनी सामुदायिक मावि र धौलागिरि मावि सिंगालाई अपांगमैत्री मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता खेमराज पाठकले बताए।
'दुई वटामै आवश्यक तयारी पूरा भएको छ, सबै मतदान केन्द्रमा यो सुविधा सम्भव छैन,' उनले भने। उनका अनुसार अपांगता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियरमा गुडाएर पु्ग्न सक्ने गरी र्याम्प निर्माण गरिएको छ।
अपांगता भएका व्यक्तिलाई अन्य मतदाताझै मतदान केन्द्रमा पुग्न सक्ने अवस्था नरहने भएकाले मताधिकार दुरुपयोग गरिने, आवतजावतमा समेत सास्ती हुने भएकाले पनि र्याम्प निर्माण गरिएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए।
'अपांगता भएकालाई अन्य केही मतदान केन्द्रमा पनि सहजै मतदान गर्न सकिने संरचना रहेका छन्,' उनले भने।
जिल्लाका मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपांगता भएकालाई पहिलो प्राथमिकता दिने व्यवस्था मिलाइएको उनको भनाइ छ। जिल्लाका सबै १०६ मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई ज्येष्ठ नागरिक, अपांगता भएका र बिरामी मतदातालाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको छ।
अपांग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले मताधिकार सुनिश्चित गर्नका लागि जिल्लाभरका सबै मतदान केन्द्रलाई अपांगमत्री बनाइनुपर्ने माग विस्तारै पूरा हुँदै गएको बताए।
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन्। तीमध्ये ३९ हजार ४३५ महिला, ३६ हजार १०२ जना पुरुष र एकजना तेस्रोलिंगी छन्।
एउटा निर्वाचन क्षेत्र रहेको यो जिल्लाको प्रदेशसभा (क) मा ४२ हजार ९९३ र (ख) मा ३२ हजार ५४५ मतदाता छन्। एक प्रतिनिधिसभा र दुई प्रदेशसभातर्फ गरी कुल १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।