पोखरा- पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित वाम गठवन्धनको सम्पर्क कार्यालयमा शुक्रबार साँझ कुकर बम विस्फोट भएको छ।
विस्फोटबाट घरको सटरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए। घना बस्ती भएको सो ठाउँमा बम विस्फोट भएपछि स्थानीयवासी त्रस्त छन्।
उता सिरहाको सिरहाको मिर्चैया नगरपालिका–५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा पनि बम विस्फोट भएको छ। गठबन्धनका तर्फबाट सिरहा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयशंकर नायकले खोलेको सम्पर्क कार्यालयमा कुकर बम विस्फोट गराइएको हो। विस्फोटबाट कुनै क्षति नभएको सिरहाका प्रहरी नायव उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए।
विष्फोट गराइएको ठाउँमा जयकृष्ण गोइतको हस्ताक्षर रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको प्रहरीले जनाएको छ।
यसैबीच, शुक्रबार साँझ सिरहाकै धनगढीमाई नगरपालिका–७ स्थित फुलकहामा राखिएको संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेला परेको छ। फोरमका तर्फबाट सिरहा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुघ्नसिंह कोइरीको बा ३ च ७६६१ नम्बरको प्रचार गाडीमा प्रेसर कुकर बम फेला परेको हो।
उम्मेदवार सिंहसहितका नेता तथा कार्यकर्ता गाउँमा घरदैलो सकेर गाडीमा चढ्न लाग्दा पछाडिको सिटमा राखिएको झोलामा कुकर बम भेटिएपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।