काठमाडौं- नेपाली कांग्रेसले निर्वाचनको संघारमा आफ्ना कार्यकर्तामाथि नेकपा एमालेका कार्यकर्ताबाट भौतिक आक्रमण भएको भन्दै त्यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी दिएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले पहिलो चरणको निर्वाचनको संघारमा बाजुरा र धादिङमा आफ्ना कार्यकर्ताको हत्या नै गर्ने मनसायले एमाले कार्यकर्ताबाट भौतिक आक्रमण भएको भनी निन्दा गरेको छ।
'यस घटनाले शान्तिपूर्ण एवं निर्बाधरुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लंघन गरेको छ', पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस प्रकारका अवाञ्छित क्रियाकलाप पुनः नदोहोर्यााउन कांग्रेस चेतावनी दिन चाहन्छ।'
बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति एमालेका करिब ४० जना कार्यकर्ताको समूहको धारिलो हतियार प्रहारबाट कांग्रेसका स्थानीय कार्यकर्ता कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाई र लाल नेपाली घाइते भएको पार्टीले जनाएको छ। कांग्रेसका अनुसार, त्यस क्रममा डम्बर थापा, रमेश नेपाली र किसन नेपाली अझै सम्पर्कविहीन छन्।
त्यस्तै, धादिङको धुवाँकोट गाउँ कार्यसमितिका कांग्रेस सभापति सन्तोष बस्ताकोटीलाई एमालेका वडा प्रमुखसहितको नौ जनाको समूहले शुक्रबार बिहान सुतिरहेको अवस्थामा खुकुरीले आक्रमण गरी गम्भीर घाइते बनाएको कांग्रेसको आरोप छ। बस्ताकोटीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको कांग्रेसले जनाएको छ।
कांग्रेसले ती घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा कानुनी कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।