काठमाडौं- प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गरेको समेत स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आचारसंहिता पालना गरेको बताए। विशेष ठाउँमा विशेष कर्मचारी पठाउनको लागि सरकारले आयोगसँग सहमति लिएर नै सरुवा गरेको पनि उनले स्पष्ट पारेका छन्। ‘हामीसँग सहमति नलिएका कामहरु बदर हुन्छन्, हामी कारबाही गर्छौं,’ उनको भनाइ थियो।
आयुक्त यादवले मौन अवधि मतदाताको विवेक प्रयोग गर्ने र सोच्ने समय भएकाले स्वतन्त्र रुपमा मतदातालाई छोड्दिन पनि आग्रह गरेका छन्। साथै उनले मौन अवधिको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारमाध्यमलाई आह्वान गरे।
हिमाली क्षेत्रका कतिपय जिल्लामा भौगोलिक विकटता र मौसम प्रतिकूलताका बाबजुत पनि खटिएका कर्मचारीबाट निर्वाचन सफल तुल्याउन निकै ठूलो योगदान भइरहेको उनको भनाइ छ।
मतदानको लागि महिला र पुरुषलाई छुट्टाछुट्टै व्यवस्था गरिने तथा वृद्धवृद्धा, अशक्त र अपांगता भएकाहरुलाई पनि उनीहरुको अभिभावकले भनेजसरी नै सवारी सुविधाको व्यवस्था गरिने यादवले जानकारी दिए।
शान्तिपूर्ण रुपमा मतदान गर्न र अरुलाई पनि उत्प्रेरित गर्न आग्रह गर्दै उनले स्थानीय तहको निर्वाचन जस्तै उत्साहजनक सहभागिता जनाई उदाहरण प्रस्तुत गर्न सुझाव दिए।
संविधान कार्यान्वयनका लागि निर्वाचन महत्वपूर्ण खुड्किलो भएको भन्दै उनले निर्वाचनलाई पर्वको रुपमा मनाउन सबै नेपालीमा आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।