काठमाडौं- धुनषाका देवेन्द्र यादवले आफ्नो जिल्लामा कहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन्छ भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा फोनमार्फत जिज्ञासा राखे। काठमाडौँका नवराज सिंखडाले पनि समानुपातिक र प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि कस्तोकस्तो मतपत्र हुन्छ भनेर फोन गरे।
निर्वाचन आयोगको कल सेन्टरका कर्मचारीले यादवलाई दोस्रो चरण मंसिर २१ गते हुने जवाफ दिए। सिंखडालाई प्रतिनिधिसभा सदस्यतर्फको प्रत्यक्षका लागि हरियो र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ कालो तथा प्रतिनिधिसभा र प्रदेशसभा दुवैको समानुपातिकतर्फ रातो मतपत्र हुने जानकारी दिँदै जिज्ञासा मेटिदिए। रातो मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाका लागि रहेको ती कर्मचारीले बताइदिए।
यादव र सिंखडा जस्तै अन्य मतदाताले राखेका जिज्ञासालाई आयोगले सञ्चालन गरेको कल सेन्टरमार्फत यसरी नै प्रत्यक्षरुपमा कर्मचारीले समाधान गर्ने गरेका छन्।
बिहान ८ देखि साँझ ८ बजेसम्म आयोगका कर्मचारीले कल सेन्टरमा यसरी आएका मतदाताको जिज्ञासालाई मेटाउने प्रयास गरिरहेका छन्। आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनसम्बन्धी कुनै पनि मतदाताको समस्या समाधान कल सेन्टरबाट गरिरहेको जानकारी दिए।
स्थानीय तहको निर्वाचनको समयमा गत बैसाख १५ गतेदेखि निर्वाचनसम्बन्धी मतदाताको जिज्ञासालाई कल सेन्टरले समाधान गर्दै आएको छ। 'अहिले दैनिक एक सयभन्दा बढी मतदाताले कल सेन्टरमा निर्वाचनसम्बन्धी कुराको जिज्ञासा राख्ने गरेका छन्,' कल सेन्टरका कम्प्युटर अधिकृत श्रीराम क्षेत्रीले भने, 'हामीले मतदाताले राखेका जिज्ञासालाई तत्काल मेटाउने प्रयास गरेका छौं।'
कल सेन्टरमा आएका धेरैजसो मतदाताको जिज्ञासालाई तुरुन्तै कल उठाउने कर्मचारीले समाधान गर्छन् भने कर्मचारीले तुरुन्तै आफूले सामाधान गर्न नसक्ने जिज्ञासालाई आयोगको सम्बन्धित शाखामा कल उपलब्ध गराएर समाधान गरिन्छ।
कल सेन्टरमा मतपत्रमा छाप कसरी हाल्ने, समानुपातिक र प्रत्यक्षमा कस्तो कस्तो रङको मतपत्र हुन्छ, नयाँ मतदाताले कहिले तस्बिसहितको मतदाता परिचयपत्र पाइन्छ, आचारसंहिता उल्लंघनका घटना भएका लगायत जिज्ञासा धेरै आउने गरेको कम्प्युटर अधिकृत क्षेत्रीले बताए।
मतदाताले १६६००१४४२२२ नम्बरको फोनमार्फत कल सेन्टरमा जिज्ञासा राख्ने गरेका छन्। दैनिक चार वटा ठाउँबाट १० जना कर्मचारीले मतदाताले राखेका जिज्ञासा मेटाउने गरेका छन्।
अहिलेसम्म कल सेन्टरमा करिब १० हजारले जिज्ञासा राखेको क्षेत्रीले बतए। मतदाताले फेसबुक, मोबाइल एपबाट पनि जिज्ञासा राख्ने गरेका छन्।
कल सेन्टरमा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट मतदाताले जिज्ञासा राख्ने गरेका छन्। बाहिरी जिल्लाका तर काठमाडौँमा बसोबास गर्नेले बढी निर्वाचनमा मतदानसम्बन्धी कुराको जिज्ञासा राख्ने गरेको उनले बताए।
क्षेत्रीले ६ वटा ठाउँबाट सञ्चालन गर्न सक्ने भए पनि अहिले त्यति चाप नभएकाले ४ वटा ठाउँबाट मात्र सञ्चालन भइरहेको जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।