डडेलधुरा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला पुगेर वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा बढी समय प्रधानमन्त्री देउवाप्रति खनिएका अध्यक्ष ओलीले देउवालाई जनता नै नचाहिने टिप्पणी गरे।
‘उहाँलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री हुने भनेका छन्, अनि जनता किन चाहियो र’, ओलीले व्यंग्य गर्दै भने।
अध्यक्ष ओलीले देश र डडेल्धुराका जनताका लागि देउवाले सिन्को पनि भाँच्न नसकेको आरोप समेत लगाए।
देउवालाई कटाक्ष गर्दै उनले थपे, ‘यस जिल्लाका लोकतन्त्रका ठेकेदार कोही–कोही मान्छे सात पटकसम्म प्रधानमन्त्री हुन्छु भन्दै चुनावी सभाहरुमा हिँडेका छन्, त्यो पनि ज्योतिषीको भरमा परेर। चार पटक प्रधानमन्त्री हुनेले के गरेर देखाए? एक पटक प्रधानमन्त्री हुने हामीले जनताको मनमा छाप छाड्ने गरी काम गरेका छौं।’
ज्योतिषीको भर गर्नेहरुलाई डडेल्धुराका जनता नै नचाहिने बताउँदै ओलीले वाम गठबन्धनका उम्मेदवारलाई भने जनताकै भोट चाहिएको जिकिर गरे।
उनले डडेल्धुरामा देउवाका प्रतिस्पर्धी एमालेका उम्मेदवार खगराज भट्टलाई जिताए विकासका लागि पसिना बगाउने बताए।
साथै, अध्यक्ष ओलीले मंसिर २१ गतेपछि वाम गठबन्धनको सरकार बन्ने भन्दै सुरक्षा निकायलाई पनि कडा चेतावनी दिए।
‘प्रहरी प्रशासनलले कानुनको मर्यादा ख्याल गर्नुस्’, उनले भने, ‘निर्वाचन आचारसंहिताको धज्जी सरकारले उडाउँदै छ, तपाईहरु आफनो जिम्मेवारी वहन गर्न कन्जुस्याइँ नगर्नुस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।