सुर्खेत– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेपालमा कसैले ढाल्न नसक्ने सरकार आउने दाबी गरेका छन्।
सुर्खेतको वीरेन्द्रगरमा बिहीबार आयोजित वाम गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि बलियो सरकार आउने र त्यसले देशलाई समृद्ध बनाउने दाबी गरे।
ओलीले देशको विकास र आफ्ना सन्ततिको सुन्दर भविष्य चाहने हरेक नेपालीले वाम गठबन्धनका उम्मेदवारलाई जिताउने जिकिर समेत गरे। मुलुकको समृद्धिका लागि प्रगतिशील सरकार चाहिएको भन्दै उनले त्यसैका लागि वाम गठबन्धन बनेको बताए।
‘चुनावपछि हामी एउटै पार्टी बनेर मुलुकलाई स्थिर सरकारसहित समृद्ध बनाउनेछौं’, ओलीले भने।
नेपाली कांग्रेसका नेताहरुले कम्युनिस्ट सरकार बनेपछि लोकतन्त्र खतरामा पर्ने भनेर भ्रम छरिरहेको भन्दै ओलीले त्यस्तो भ्रममा नपर्न जनतालाई आग्रह गरे।
‘जसले लोकतन्त्र प्राप्तिका लागि लड्यो, उनीहरुबाटै लोकतन्त्र खतरामा कसरी पर्छ?’ प्रश्न गर्दै ओलीले थपे, ‘बरु ज्योतिषीको आशीर्वाद लिएर प्रधानमन्त्री बन्नेहरुबाट देश खतरामा पर्छ, नागरिक सचेत हुन जरुरी छ।’
ओलीले नेपाली कांग्रेसलाई ज्योतिषीको साथ रहेको भन्दै आफूहरुलाई भने जनताको साथ रहेको बताए।
सभामा सहभागी माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले वाम एकतालाई कसैले रोक्न नसक्ने बताए। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर सरकार बनाउने उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।