काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारहरुले ३ दिन अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरिएको छ।
झण्डै ७ महिनापछि आइतबार बसेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले अभिमुखीकरण तालिम अवधि ३ दिन अर्थात् १८ घण्टे बनाउने निर्णय गरेको हो।
सरकाले हाल वैदेशिक रोजगारीमा जाने कामदारलाई २ दिने अभिमुखीकरण तालिम दिँदै आएको छ। २ दिनको तालिम प्रभावकारी हुन नसकेकाले थप प्रभावकारीताका लागि १८ घण्टे बनाउने निर्णय गरिएको बोर्डले जनाएको छ।
जसका लागि पाठ्यक्रम समेत स्वीकृत भएको बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। 'छुट्टै देशका लागि छुट्टै पाठ्यक्रम तय गरिएको छ, पाठ्यक्रममा गन्तव्य मुलुकको भाषा, नीतिगत अवस्था, रहनसहन, त्यहाँ पुगेर गर्नुपर्ने व्यवहार, काम र सुरक्षा व्यवस्थाका विषयहरु समेटिएका छन्', निर्देशक श्रेष्ठले भने।
अभिमुखीकरण तालिम प्रभावकारी नहुँदा विदेशमा पुगेर धेरै नेपाली श्रमिकहरु समस्यामा पर्ने गरेका छन्। त्यहाँको भाषा, कानुनी व्यवस्थाबारे जानकारी नहुँदा पनि समस्यामा पर्ने क्रम बढेको छ। कतिपय कामदारहरु भाषा र नीतिगत व्यवस्थाबारे जानकारी नहुँदा जेलजीवन बिताउन समेत बाध्य छन्।
केही समय अगाडि वैदेशिक रोजगारीमा जाने कामदारहरु नै अभिमुखीकरण तालिममा सहभागी हुन झन्झट मान्ने प्रवृति देखिने गरेको थियो। त्यसमाथि तालिममा सहभागी नभई पैसा तिरेर तालिम लिएको प्रमाणपत्र लिने क्रम बढेको समेत खुलेको थियो।
यस्ता समस्याले श्रमिकहरु समस्यामा पर्ने भन्दै सरकारले अनलाइन प्रणालीको व्यवस्था गरी अनिवार्य औंठाछाप लगाउने व्यवस्था लागू गरेको छ। त्यसपछि भने अभिमुखीकरणमा अनिवार्य उपस्थित हुनैपर्ने भएको छ।
नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि थप केही समय लाग्ने बोर्डले जनाएको छ। तालिमका लागि हाल १ सय ४३ वटा अभिमुखिकण तालिम प्रदायक संस्थाहरु सञ्चालनमा रहेको बताइएको छ।
बैठकमा वैदेशिक रोजगारमा दक्ष श्रमिकहरु पठाउन जोड दिने, श्रमिकहरु सिप परीक्षण गरी स्वदेशमै पनि वैदेशिक रोजगारबाट प्राप्त सिप परिचालन गरिनेबारे पनि छलफल गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।