काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवनभित्र केही व्यवसायी र फर्मले अदालतबाट अन्तरिम आदेश देखाउँदै लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएको रहस्य खुल्न आएको छ।
विमानस्थल कार्यालयसँग व्यापार/व्यवसायका लागि ठेक्का सम्झौता गर्ने र सम्झौता अवधि सकिपछि अदालतबाट 'स्टे अर्डर' लिँदै व्यवसाय गर्ने प्रवृति बढेको हो। एउटै व्यवसायीले विभिन्न समयमा विभिन्न तहका अदालतबाट अन्तरिम आदेश लिँदै ५ वटासम्म व्यापार व्यवसाय गर्दै आएको खुल्न आएको हो।
तर विमानस्थल कार्यालयले भने उनीहरुलाई कुनै कारबाहीको प्रक्रिया अघि बढाउन सकेको छैन। विमानस्थल कार्यालयको अन्तर्राष्ट्रिय टर्मिनल भवनको भुईंतला र आन्तरिक टर्मिनल भवनमा अदालतका अन्तरिम आदेशका भरमा झन्डै डेढ दर्जन व्यवसायीले व्यापार गरिरहेका छन्।
अदालतको अन्तरिम आदेशकै कारण विमानस्थल कार्यालयले ठेक्का सम्झौता सकिएपनि पुनः टेन्डर गर्न सकेको छैन। अदालतबाट 'स्टे अर्डर' लिँदै व्यवसाय गर्ने कतिपय व्यवसायीले त विमानस्थल सेवाशूल्क नियमावली २०६७ र संशोधन २०६९ अुनसार भाडा रकम पनि तिरेका छैनन्।
अन्तरिम आदेशका भरमा व्यवसाय गर्ने फर्म र व्यापारी
बालकृष्ण भौगठी, अबिनकृष्ण ताम्राकार र प्रदीपकुमार मुनाकर्मीको संयुक्त व्यवसाय
१. एबिपी मार्ट प्रालिका सञ्चालक बालकृष्ण भौगठी, अबिनकृष्ण ताम्राकार, प्रदीपकुमार मुनाकर्मीले काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश दिँदै व्यवसाय गर्दै आएका छन्। एबिपीसँग विमानस्थल कार्यालयले २०७२ भदौमा ३ वर्षका लागि सम्झौता गरेको थियो। तर, सम्झौता अवधि २०७५ भदौमा सकिएपछि अदालतबाट अन्तिरिम आदेश लिँदै व्यवसाय गर्दै आएका छन्।
सुवास श्रेष्ठ
२.सोनिग सर्भिस प्रालिका सञ्चालक सुवास श्रेष्ठले पनि अदालतले जारी गरेको अन्तिरिम आदेशका भरमा नै ब्यागेज लेमिनेसनको काम गर्दै आएका छन्। श्रेष्ठले विमानस्थल कार्यालयसँग २०६९ साल भदौमा ३ वर्षका लागि व्यापार गर्ने सम्झौता गरेका थिए।
तर, उनले सम्झौता सकिएको ४ वर्ष हुनै लाग्दा पनि अदालतको 'स्टे अर्डर'को भरमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। श्रेष्ठ केही समय अगाडि मात्रै अवैध मुद्रा विदेश लैजाने क्रममा विमानस्थलबाट पक्राउ परेका थिए। श्रेष्ठसहित उनका ५ जनाको परिवारलाई नै प्रहरीले पक्राउ गरेको थियो। तर, आन्तरिक राजस्व अनुसन्धान विभागमा २७ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका छन्।

यसैगरी व्यवसायी सुवास श्रेष्ठले क्रिएटिभ नेपाली प्रोडक्टका लागि २०६७ जेठमा ३ वर्षका लागि कोठाभाडा लिँदै सम्झौता गरेका थिए। तर, सम्झौता अवधि २०७० जेठमा सकिएपछि अदालतबाट स्टे अडर लिँदै व्यवसाय सञ्चालन गर्दै आएका हुन्।
यसका साथै व्यवसायी श्रेष्ठले अदालतको 'स्टे अर्डर'कै भरमा सम्झौता म्याद सकिएको एक वर्षभन्दा बढी भइसक्दा पनि जिल्ला अदालत काठमाडौंबाट अन्तरिक आदेश लिँदै गिफ्ट शप सञ्चालन गर्दै आएका छन्। श्रेष्ठले गिफ्ट पसल सञ्चालनका लागि सोनिग सर्भिस प्रालिको नाममा २०७१ फागुनमा विमानस्थल कार्यालयसँग ३ वर्षका लागि सम्झौता गरेका थिए।
यसैगरी, श्रेष्ठले सञ्चालन गरेको होटल सोनिगको विषय पनि अदालतमा पुगेको छ। विमानस्थल कार्यालयले होटल सञ्चालनका लागि २०७३ जेठमा श्रेष्ठसँग सम्झौता गरेको थियो। सम्झौता अवधि नसकिएपनि श्रेष्ठले विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शूल्क नियमावली २०६७ अनुसार वृद्धि भएको भाडा रकम नतिर्नकै लागि अदालतबाट स्टे अर्डर लिँदै व्यवसाय गरिरहेका छन्।
तेजबहादुर कार्की
३ टि/कफी सप सञ्चालन गर्दै आएका कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्सका सञ्चालक तेजबहादुर कार्कीले पनि अदालतबाट अन्तरिम आदेश लिँदै व्यवसाय गर्दै आएका छन्। कार्कीको कम्पनीसँग विमानस्थल कार्यालयले २०६९ फागुनमा ३ वर्षका लागि सम्झौता गरेको थियो। सम्झौताअनुसार कार्कीले २०७३ जेठसम्म मात्रै व्यवसाय गर्न पाउँथे। तर, उनले अदालतबाट स्टे अर्डर लिँदै अहिलेसम्म व्यवसाय संचालन गर्दै आएका छन्।
यसैगरी, कार्कीले अदालतको अन्तरिम आदेश लिँदै अर्को गिफ्ट सप पनि सञ्चचालन गर्दै आएका छन्। कार्कीले २०६९ कात्तिकमा ३ वर्षका लागि गिफ्ट पसल सञ्चालनका लागि विमानस्थल कार्यालयसँग सम्झौता गरेका थिए। तर, उनले सम्झौता अवधि २०७२ फागुनमा सकिएपनि अदालतकै आदेशका भरमा व्यापार/व्यवसाय गर्दै आएका हुन्।
कमलप्रसाद दंगाल
४. साईकिरण इन्टरप्राईजेजका सञ्चालक कमद प्रसाद दंगालले पनि सम्झौता अवधि सकिएको ३ वर्षभन्दा बढी भइसक्दा पनि उच्च अदालतबाट अन्तरिम आदेश लिँदै बुक सप सञ्चालन गरिरहेका छन्।
दंगालले विमानस्थल कार्यालयसँग २०६९ साल पुसमा ३ वर्षका व्यापार/व्यवसाय गर्ने गरी विमानस्थलका कोठा लिएका थिए। सम्झौतामा दंगालले २०७२ पुससम्म व्यवसाय गर्न पाउने कानुनी अधिकार थियो।
तर, सम्झौता अवधि सकिएपछि दंगालले अदालतबाट अन्तरिम आदेश लिँदै व्यवसाय सञ्चालन गर्दै आएका हुन्।
दोर्जी शेर्पा
५. यसैगरी र्याडिसन होटल ओरियन्टेडका सञ्चालनक दोर्जी शेर्पाले पनि सम्झौता अवधि सकिएपछि पनि विमानस्थलको भवनमा व्यवसाय संचालन गर्दै आएका छन्। दोर्जीले पनि अदालतकै स्टे अर्डरका भरमा व्यवसाय गर्दै आएका छन्।
दोर्जीसँग विमानस्थल कार्यालयले २०६४ भदौमा १० वर्षका लागि सम्झौता गरको थियो। तर, सम्झौता सकिएको २ वर्ष हुन लाग्दा पनि उनले काठमाडौं जिल्ला अदालतबाट 'स्टे अर्डर' लिँदै व्यवसाय गर्दै आएका छन्।
बालकृष्ण भौगठी, अबिनकृष्ण ताम्राकार र प्रदीपकुमार मुनाकर्मीको अर्को पनि संयुक्त व्यवसाय
६ विपासा इन्टरप्राईजेजका संचालक बालकृष्ण भौगठी, अबिनकृष्ण ताम्राकार, प्रदीपकुमार मुनाकर्मीले पनि अदालतको स्टे अर्डरकै भरमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा संगीतका सामान तथा बालबच्चाको खेलौना व्यापार गर्दै आएका छन्। उनीहरुसँग विमानस्थल कार्यालयले २०६९ भदौमा ३ वर्षका लागि सम्झौता गरको थियो।
तर, उनीहरूको सम्झौता अवधि २०७२ कात्तिकमा नै सकिएपनि जिल्ला अदालत काठमाडौंको र उच्च अदालत पाटनबाट स्टे अडर लिँदै व्यवसाय गर्दै आएका छन्।
अबिनकृष्ण ताम्राकार
७. अबिनकृष्ण ताम्राकारकै क्लासिक मार्टले पनि उच्च अदालतबाट अन्तरिम आदेश लिँदै सम्झौता अवधि सकिएको ४ वर्ष हुन लाग्दासम्म मिठाई पसल सञ्चालन गर्दै आएका छन्। विमानस्थल कार्यालयले मार्टका सञ्चालक ताम्राकारसँग २०६९ कात्तिकमा ३ वर्षका लागि सम्झौता गरको थियो।
गोपाल बाबु श्रेष्ठ
८. विमानस्थल चिया, कफी र मिठाई पसलका संचालक गोपाल बाबु श्रेष्ठले पनि सम्झौता अवधि सकिएपनि सर्वोच्च अदालतबाट स्टे अर्डर लिँदै व्यवसाय गर्दै आएका छन्। श्रेष्ठसँग विमानस्थल कार्यालयले २०६९ चैतमा ३ वर्षका कोठा भाडामा दिने सम्झौता गरको थियो।
अच्युत बहादुर हाडा
९. हिमालयन मनी एक्सचेन्ज प्रालिले पनि सम्झौता सकिएको ५ वर्ष बित्न लाग्दा पनि अदालतको स्टे अर्डरकै भरमा व्यवसाय सञ्चालन गरिरहेका छन्। हिमालयका अच्युतबहादुर हाडाले विमानस्थल कार्यालयसँग २०६७ असोजमा ३ वर्षका लागि सम्झौता गरेको थिए।
नितिन हाडा
१०. मल्टी बिजनेश स्पोर्टस् सर्भिसेज प्रालिका सञ्चालक नितिन हाँडाले पनि विमानस्थल कार्यालयसँग सम्झौता अवधि सकिएको ५ वर्ष हुनै लाग्दा पनि व्यापार व्यवसाय गर्दै आएकी छन्। हाँडाले सिआइपी कोठाका लागि विमानस्थल कार्यालयसँग २०६८ असारमा ठेक्का सम्झौता गरेकी थिइन्।
केशवकुमार बस्नेत
११. इस्ट एन्ड वेस्ट इन्टरनेसनल टुर्स एन्ड ट्राभल प्रालिका केशवकुमार बस्नेतले पनि उच्च अदालतबाट अन्तरिम आदेश लिँदै टिकट काउन्टर सञ्चालन गर्दै आएका छन्। बस्नेतसँग विमानस्थल कार्यालयले २०६८ पुसमा ३ वर्षका लागि कोठा भाडामा दिने गरी ठेक्का सम्झौता गरको थियो।
संजय पराजुली
१२. यति मनी एक्सेन्जर प्रालिले पनि सम्झौता अनुसारको व्यापार/व्यवसाय गर्ने पाउने म्याद सकिएपछि सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर व्यवसाय गर्दै आएको छ। मनी एक्सेन्जरका मालिक संजय पराजुलीसँग विमानस्थल कार्यालयले २०७० असारमा पुनः ३ वर्षका लागि म्याद थप गरेको थियो।
तर, त्यसपछि भने पराजुलीले अदालतबाट स्टे अर्डर लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन्। यसैगरी पराजुलीले हाईलाईटस् नेपाल प्रालिले पनि अदालतबाटै अन्तरिक आदेश लिएर सम्झौताअनुसार म्याद सकिएको २ वर्ष भइसक्दा पनि व्यापार व्यवसाय गर्दै आएका छन्।
उनले सिम कार्ड बिक्रीका लागि विमानस्थल कार्यालयसँग २०७० फागुनमा ३ वर्षका लागि कोठा लिएका थिए। तर, म्याद सकिएपछि उच्च अदालतबाट अन्तरिम आदेश लिएर व्यवसाय सञ्चालन गर्दै आएका हुन्।
यसैगरी आन्तरिक टर्मिनल भवनमा पनि व्यवसायी सुवास श्रेष्ठले होटल स्वनिग सर्भिस र जितेन्द्र श्रेष्ठले कान्तिपुर क्याफे सञ्चालनको सम्झौता म्याद सकिएपछि काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश लिएर सञ्चालन गरिरहेका छन्। यो क्याफेमा व्यवसायी सुवास श्रेष्ठको पनि लगानी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।