काठमाडौँ- चीनको राजधानी बेइजिङमा शनिबार सम्पन्न 'बेल्ट एन्ड रोड इनिसिएटिभ-बिआरआई'को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली परियोजनाले पनि संस्थागत स्थान पाएको छ।
३७ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहितको उपस्थितिमा तीन दिनसम्म चलेको सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा बिआरआई अन्तर्गत नेपालले अघि सारेको हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल पनि समावेश गरिएको छ।
३८ बुँदे संयुक्त वक्तव्यको २३औं बुँदामा चीन-नेपाल हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल पनि समावेश गरिएको छ। त्यसमा नेपाल-चीन सिमापार रेल सञ्जालबारे पनि उल्लेख गरिएको छ।
सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला नेपाल र चीनबीच नेपालमा बिआरआईका परियोजना कार्यन्वयन गर्न ‘ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’स्थापना गर्ने सहमति भएको थियो।
यस अन्तर्गत नेपालले मुख्यगरी सडक, जलविद्युत् र रेललाई प्राथमितामा राखेर ८ वटा परियोजनाअघि सारेको छ। नेपालले अघि सारेका परियोजनामा केरुङ-काठमाडौँ रेल, रसुवागढी-काठमाडौँ सडकलगायत छन्।
विश्वव्यापी अर्थ राख्ने चीनको महत्वाकांक्षी परियोजनामा नेपाली परियोजना पनि समावेश गरिनुले नेपालमा केही अघिदेखि चर्चामा रहेको चिनियाँ रेल आउने सम्भावना नजिकिएको बताउन थालिएको छ।
संयुक्त वक्तव्यमा समावेश भएसँगै केरुङ हुँदै चिनियाँ रेल काठमाडौँ ल्याउने परियोजना कार्यान्वयन गर्न सजिलो हुने नेपाली पक्षको विश्वास छ।
परारष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि अब नेपालमा चिनियाँ रेल आउने ठोस आधार बन्दै गएको भन्दै विश्वस्त देखिन थालेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच सोमबार हुने दुईपक्षीय वार्तामा यसको सहकार्यबारे ठोस आधार तय हुने बताए।
‘रेल महत्त्वाकांक्षी र जटिल विषय हो, अब नेपालमा चिनियाँ रेल आउनेमा हामी निश्चिन्त छौं,’ शनिबार साँझ बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिका तर्फबाट भ्रमणको उपलब्धिबारे सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘परियोजना कार्यान्वयनले नेपाललाई मात्र होइन, चीनका लागि पनि सफलताको छुट्टै बाटो तय हुनेछ। हिमालयको काखबाट गरिने रेलयात्रा साँच्चै लोभलाग्दो छ।’
बिआरआईको गोलमेच सम्मेलनमा जुटेका सहमति
२८३ वटा उपलब्धि, नेपाल कहाँ?
सम्मेलनमा २ सय ८३ प्रस्तावमा दुईपक्षीय तथा बहुपक्षीय सहकार्य गर्ने सहमति भएका छन्। यसलाई सम्मेलनका उपलब्धिसमेत भनिएको छ। नेपालले पनि विभिन्न सम्झौतामा हस्ताक्षर गरेको छ।
विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी गोलमेच सम्मेलनले पारित गरेका बहुपक्षीय साझेदारीका परियोजना अन्तर्गत बेल्ट एन्ड इनर्जी पार्टनरसिप, बीआरआई ट्याक्स एड्मिनिस्ट्रेसन मेकानिजम्, न्यूज अलाइन्स, स्टडी नेटवर्कसहितका परियोजना छन्।
जसअन्तर्गत नेपालले ट्याक्स एड्मिनिस्ट्रेसनमा नेपाल संस्थापक सदस्य बन्ने भएको छ।
त्यस्तै नेपाल र चीनबीच यातायात साझेदारीसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर भएको छ। यसमा नेपालसहित पाकिस्तान, लाइबेरिया, जर्जिया, बेलारुस, अर्मानिया, साउदी अरब, लाओस र कजाकस्तानसँग पनि हस्ताक्षर भएको छ।
नेपाल र चीनबीच संस्कृति आदानप्रदान तथा साझेदारीसम्बन्धी सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ। चीनले २८ देशसँग बेल्ट एन्ड रोड इनर्जी पार्टनरसिप कायम गरेको छ, त्यसमा नेपाल पनि पर्छ।
त्यस्तै चीनसँग संयुक्त रुपमा नेपालसहित रुस, पाकिस्तान, मंगोलिया, लाओस, साउदी अरब, सिरिया र भियतानामका गुणस्तर मापन विभागहरूले बेल्ट एन्ड रोड गुणस्तरसम्बन्धी साझेदारीका लागि संयन्त्र बनाउने घोषणा गरेका छन्।
३७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले जारी गरेको संयुक्त वक्तव्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।