काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशका सम्भावित युवाहरुलाई देशभित्रै ढुक्क भएर काम गर्ने मानसिकता बनाउन आग्रह गरेका छन्।
'राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७६' का अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै मन्त्री विष्टले सो कुरा बताएका हुन्।
मन्त्री विष्टले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई लक्षित गर्दै भने, ‘तपाइँहरुमा राम्रो सम्भावना छ, प्रतिभा छ, आज तपाइँहरुलाई रोजगारीकै कुराले मनमा छोइरहेको होला, पढेर कुन देशमा जाने सोचिरहनु भएको होला, यस्तो मानसिकतालाई छोडेर देशभित्रै केही गर्छु भन्ने मानसिकता बनाउनुस्।’
उनले थपे, 'यो प्रकारको जनशक्ति युवाशक्तिलाई देशभित्रै परिचालन गर्ने गरी सरकार नयाँ ढंगले अगाडि बढिरहेको छ, तपाईंहरुलाई देशभित्रै सुरक्षित ढंगले स्वस्थ वातावरणमा मर्यादित रुपमा काम गर्ने वातावरण निर्माण गरिरहेको छ।’
सबै श्रमिक वर्गहरुका स्वास्थ्यसँग सम्बन्धित क्षेत्रहरुलाई सरकारले प्रभावकारी ढंगबाट अगाडि बढाउने मन्त्री विष्टले प्रतिबद्धता व्यक्त गरे।
श्रमिकहरुको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सन्दर्भमा धेरै कानुनी प्रावधानहरु बनिसकेका भएपनि प्रावधानहरुको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै नीति प्रभावकारी बनाउन तथा थप सुधारका सम्बन्धमा आफू सधैँ तत्पर रहने मन्त्री विष्टले बताए।
‘अघिल्ला वर्षहरुमा पनि व्यवसायजन्य सुरक्षा दिवस मात्रै मनाइयो तर सुधारका केही प्रयास भएनन्। अबको एक वर्ष भित्रमा व्यवसायको सुरक्षा तथा श्रमिकहरुको स्वास्थ्यका सम्बन्धमा सरकारले भएको नीति कार्यान्वयनमा पहल गर्नेछ’, मन्त्री विष्टले भने।
कार्यक्रममा विभिन्न मन्त्रालय, रोजगारदाता, श्रमिकहरु, ट्रेड युनियन लगायत विभिन्न क्याम्पसका विद्यार्थीहरुको समेत उपस्थिति थियो।
कामको भविष्य र सुरक्षा तथा श्रमिकहरुको स्वास्थ्य भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।