काठमाडौं- सरकारले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको गृह सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए।
यसअघि बढुवा सिफारिस समितिले चारै जनालाई एआइजीमा सिफारिस गरेको थियो। उनीहरु विरुद्ध कुनै पनि उजुरी नआएपछि सरकारले बढुवा गर्ने निर्णय गरेको हो।
एआइजीमा बढुवा भएका चारै जना प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै ब्याचका हुन्।
गत कात्तिक २७ गते बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। समितिले बढुवा सिफारिसउपर चित्त नबुझे एक साताभित्र उजुरी गर्न सूचना जारी गरे पनि कुनै पनि उजुरी परेको थिएन।
नेपाल प्रहरीमा एआइजीका दुई दरबन्दी रिक्त भए पनि बढुवा हुन सकेको थिएन। एआइजीका आकांक्षी धेरै भएपछि सबैलाई भागबन्डा पुर्याउन सरकारले कात्तिक अन्तिम साता फेरि दुई एआइजीको दरबन्दी थपेर चार पुर्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।