सोल, दक्षिण कोरिया- पर्यटन प्रवर्द्धनका लागि दक्षिण कोरियाका मुख्य २ सहरमा नेपाल गन्तव्य नामक पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।
कोरियास्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा अप्रिल २३ देखि २५ तारिख सम्म राजधानी सउल र दोश्रो राजधानी बुसानमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरिएको हो।
नेपाल सरकारबाट घोषित राष्ट्रिय अभियान ‘भिजिट नेपाल २०२०’ प्रचार प्रसार गरिएको कोरियास्थित नेपाल पर्यटन दूत केपी सिटौलाले जानकारी गराए।
आगन्तुक कोरियन नागरिकलाई नेपालको संस्कृति,परम्परा,भ्रमण स्थानका बारेमा जानकारी गराइएको उनले बताए।
उनले भने, ‘नेपालप्रति कोरियाको चासो र भ्रमण बढेको बेला गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमले थप पर्यटक बढ्ने बाटो खोलेको छ।’
कार्यक्रममा नेपालको पछिल्लो अवस्थाबारे पनि कोरियनलाई जानकारी गराइएको थियो। नेपालमा अघिल्ला वर्षको तुलनामा कोरियन पर्यटकको आगमनमा वृद्धि भएको छ। नेपाल आउने कोरियन पर्यटकको संख्या २०१८ मा ३७ हजार १ सय ४२ पुगेको दूतावासको तथ्याङ्क छ। उक्त अंक ३ वर्षअघिको तुलनामा दोब्बर हो।
प्रमुख दुई शहरमा ‘नेपाल चिनाउने’ कार्यक्रममा दुतावासका कार्यवाहक राजदूत किरण शाक्यले दुइ मुलुकबीच असल सम्बन्ध रहेको बताए। आग नेपाल भ्रमणका लागि उपयुक्त समय स्थान भएको जानकारी गराईएको थियो।
नेपाल पर्यटक भित्रने मुलुकहरुमा नेपाल पर्यटन बोर्डले गर्ने ‘गन्तव्य नेपाल’ अन्तर्गतको पहिलो कार्यक्रम कोरियामा भएको हो। कोरियास्थित ट्राभल कम्पनी र त्यहाँका मिडियालाई आमन्त्रण गरिएको थियो।
भुकम्पपछिको नेपाल र भ्रमणका लागि उत्कृष्ट गन्तव्य नेपाल रहेको सकरात्मक छाप छोड्न कार्यक्रम सफल रहेको सिटौलाले बताए। ट्राभल र मिडिया गरी ७० जना उपस्थित भएको उनले प्रष्टाए। गन्तव्य नेपालका बारे रानु शाले जानकारी गराएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।