काठमाडौं- नेपाल राष्ट्र बैंकले स्थापनाको ६४औं वार्षिकोत्सव सम्पन्न गरेको छ। एक कार्यक्रम आयोजना गरी बैंकले शनिबार स्थापनाको ६४औं वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा गभर्नर डा. चिरंजिवी नेपालले पछिल्लो समय मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै आर्थिक क्रियाकलापले गति लिन थालेको धारणा राखेका छन्।
कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको उनको भनाई छ।
साधारणसभामा गभर्नर नेपालले मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा राखेको मन्तव्यको सम्पादित संक्षिप्त अंश
वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहलकदमीको परिणामस्वरूप वित्तीय पहुँच विस्तार भएको छ। कृषि, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा कर्जा प्रवाह बढेको छ। भुक्तानी प्रणाली आधुनिकीकरण गर्ने दिशामा पूर्वाधार निर्माणका महत्वपूर्ण कामहरू अगाडि बढेका छन्।
बैंक तथा वित्तीय संस्थाहरू एक-आपसमा गाभिई संस्थागत सबलीकरण र संख्यात्मक व्यवस्थापनमा सहयोग पुगेको छ। २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ८ हजार २ सय ५ पुगेको छ भने प्रति शाखाले सेवा प्रदान गर्नसक्ने जनसंख्या ३ हजार ५ सय ६० भएको छ।
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको संख्या २०७५ फागुनमा २ करोड ५७ लाख पुगेको छ। ७ सय २४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन्। २०७५ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३० खर्ब ९ अर्ब पुगेको छ भने कर्जा लगानी २७ खर्ब ४९ अर्ब रहेको छ।
भौतिक पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता पूरा गर्ने उद्देश्यले पूर्वाधार विकास बैंक स्थापना भएको छ। संघीयता कार्यान्वयनमा सहयोग पुर्याउन नेपाल राष्ट्र बैंकको संस्थागत ढाँचामा परिवर्तन गर्ने क्रममा कर्णाली प्रदेशमा यस बैंकको कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ।
२०७२ वैशाखको विनाशकारी भूकम्पले ध्वस्त भएका यस बैंकका बालुवाटार तथा थापाथलीस्थित भवनहरूको निर्माण कार्य प्रारम्भ भई आगामी २ वर्षभित्र सम्पन्न हुने योजना रहेको छ।
समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र विश्व अर्थतन्त्र
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१८ मा ३.६ प्रतिशतले वृद्धि भएको विश्व अर्थतन्त्र सन् २०१९ मा ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। छिमेकी मुलुकहरू भारत र चीनको आर्थिक वृद्धि सन् २०१९ मा क्रमश ७.३ प्रतिशत र ६.३ प्रतिशत रहने कोषको प्रक्षेपण छ।
आर्थिक वृद्धि तथा मूल्य स्थिति
मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा अगाडि बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा समेत ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक भइ सकेको छ।
तीन वर्ष लगातार औसत ७ प्रतिशतको आर्थिक वृद्धि हुनुले नेपालको उत्पादन सम्भाव्यता बढेको देखाउँछ। शोधनान्तर स्थिति दबाबमा रहेतापनि समष्टिगत आर्थिक व्यवस्थापन सकारात्मक रहेको छ। २०७५ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४ प्रतिशत रहेको छ। यस्तो मुद्रास्फीति २०७४ चैतमा ५.३ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ।
सरकारी वित्तीय स्थिति
२०७५ चैत मसान्तसम्ममा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति १७ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको छ। संघीय सरकारको कुल खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड पुगेको छ। यसमध्ये चालु खर्च ४ खर्ब ४७ अर्ब ५५ करोड र पुँजीगत खर्च १ खर्ब ३ अर्ब ४९ करोड रहेको छ।
२०७५ चैत मसान्तसम्ममा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) १९.५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४ अर्ब ६० करोड पुगेको छ।
बाह्य क्षेत्र स्थिति
समीक्षा अवधिमा चालु खाता १ खर्ब ९१ अर्ब १२ करोड र शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा रहेको छ।
कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६१ अर्ब ७१ करोड कायम भएको छ। बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.१ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
मौद्रिक व्यवस्थापन
आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा विस्तृत मुद्राप्रदाय ८.४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९.७ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.६ प्रतिशतले बढेको छ।
२०७५ चैतमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ४.४४ प्रतिशत रहेको छ। त्यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर ५.२८ प्रतिशत रहेको छ।
२०७५ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत रहेको छ।
यसैगरी, बैंकहरुको औसत आधार दर ९.६५ प्रतिशत रहेको छ।
पुँजी बजार
नेप्से सूचकाङ्कमा भएको केही उतारचढावका बावजूद चालू आर्थिक वर्ष पुँजी बजारका गतिविधि स्थायित्वतर्फ उन्मुख भएका छन्। २०७६ वैशाख १२ मा नेप्से सूचकाङ्क १२९२.१२ बिन्दुमा रहेको छ।
पुनर्कर्जा
प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा बढाउने उद्देश्यले यस बैंकबाट सञ्चालनमा रहेको पुनर्कर्जा सुविधाको उपयोगलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था मिलाइएको छ।
यस अन्तर्गत यस बैंकमा रहेको पुनर्कर्जा कोषको सीमा वृद्धि गरी रु. ५० अर्ब पुर्याउने व्यवस्था गरिएको छ। त्यसैगरी, पुनर्कर्जा दरहरुमा कटौती गरी ब्याजदर स्थायित्व कायम गर्ने प्रयास गरिएको छ।
सहुलियतपूर्ण कर्जा सुविधाको उपयोग वढाउनेतर्फ आवश्यक पहल गरिएको छ। २०७५ फागुन मसान्तमा रु. २४ अर्ब ५२ करोड पुनरकर्जा बक्यौता रहेको छ।
वित्तीय क्षेत्र सुधार, नियमन तथा सुपरिवेक्षण
आर्थिक वर्ष २०७५/७६ देखि 'ख' र 'ग' वर्गका वित्तीय संस्थाहरूले वित्तीय विवरण नेपाल फाईनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) बमोजिम तयार गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाहरूका लागि जोखिम व्यवस्थापन मार्गदर्शन, २०७५ लागू गरिएको छ। इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि आर्थिक वर्ष २०७६/७७ को शुरु देखि लागू हुने गरी युनिफर्म चार्ट अफ अकाउन्ट जारी गरिएको छ।
विद्युतीय माध्यमबाट बैंकिङ्ग क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूनीकरण गर्दै साइबर सुरक्षालाई प्रवर्द्धन गर्न वाणिज्य बैंकहरूले अनिवार्य रूपमा आर्थिक वर्ष २०७५/७६ देखि सूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।
वाणिज्य बैंकहरूले प्रत्येक आर्थिक वर्षको लागि निक्षेप, दायित्व तथा कर्जा सापट सहितको वार्षिक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई साउन मसान्तभित्रमा यस बैंकको बैंक सुपरिवेक्षण विभाग समक्ष अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
भुक्तानी प्रणाली
देशमा सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने सन्दर्भमा सोसँग सम्बन्धित कार्यको नियमन, सुपरिवेक्षण र निगरानी गर्ने उद्देश्यले तयार गरिएको 'भुक्तानी तथा फछ्र्यौट ऐन, २०७४' संसदबाट पारित भई लागू भएको छ।
नेपालमा रियल टाईम ग्रस सेटलमेन्ट प्रणाली लागू गर्ने सन्दर्भमा सन् २०१९ को सेप्टेम्बरसम्ममा सो प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने योजना अनुरूप कार्य अगाडि बढिरहेको छ।
विदेशी विनिमय व्यवस्थापन
इजाजतपत्र प्राप्त मनि चेञ्जरहरूले बैंक वित्तीय संस्थासँग सम्झौता गरी पोईन्ट अफ सेल (पिओएस) मार्फत विदेशी पर्यटकलाई तोकिएका कागजातहरू लिएर निर्दिष्ट प्रक्रियाहरू पूरा गरी भिजा, मास्टरकार्डलगायतका अन्तर्राष्ट्रिय कार्ड मार्फत् विदेशी मुद्रा सटही सुविधा दिन सक्ने व्यवस्था गरिएको छ।
विदेशी लगानीमा स्थापना भएका तोकिएका उद्योग तथा परियोजनामा विदेशी लगानीकर्ताले भित्र्याएको विदेशी मुद्राको रकम नेपालका वाणिज्य बैंकहरूमा निक्षेप राखी सोको धितोमा नेपाली मुद्रामा कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।
२०७५ फागुन १३ गते राजपत्रमा प्रकाशित 'हेजिङ्ग सम्बन्धी नियमावली, २०७५' कार्यान्वयनमा आएको हुँदा मिति २०७५ फागुन २६ गते सो सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरिएको छ।
जनशक्ति, पूर्वाधार व्यवस्थापन लेखापरीक्षण तथा विविध जनशक्ति व्यवस्थापन
बैंकमा मानव संसाधनको व्यवस्थापन गर्न जनशक्ति योजना तयार गरी कर्मचारी भर्ना, तालिम, विकास, सरुवा, बढुवा, अवकाश लगायतका कार्यहरू नियमित रूपमा सम्पन्न गरिएका छन्।
२०७५ फागुन मसान्तसम्ममा बैंकमा १ हजार ४५ कर्मचारीहरूमध्ये अधिकृतस्तरका ५ सय ३८, सहायकस्तरका ३ सय ८२ र श्रेणीविहिन कार्यालय सहयोगीस्तरका १२५ कर्मचारीहरू रहेका छन्। त्यसैगरी विभिन्न पदमा गरी १ सय ४० जना करारमा कार्यरत रहेका छन्।
२०७४ चैत १ गतेदेखि २०७५ फागुन मसान्तसम्मको अवधिमा कुल १ सय ७५ जना कर्मचारीहरू बैंक सेवाबाट निवृत्त भएका छन्।
मुद्रा व्यवस्थापन
नेपाली नोटको गुणस्तर वृद्धिका लागि नोटको आयु बढ्ने र सुरक्षण विशेषताहरू स्तरोन्नति हुने गरी नोट छपाई प्रक्रिया अगाडि बढाइएको छ। सफा नोट नीतिको प्रभावकारी कार्यान्वयनका लागि देशका विभिन्न भागमा सफा नोट नीति सम्बन्धी अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
वित्त व्यवस्थापन तथा आन्तरिक लेखापरीक्षण
आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण एनएफआरएसको पूर्ण पालना गरी प्रकाशन गरिएको छ। लेखापरीक्षण पद्धतिमा सुधार गर्ने क्रममा प्रविधिको विकासलाई समेत मान्यता दिई आन्तरिक लेखापरीक्षण कार्यलाई थप प्रभावकारी बनाउन आन्तरिक लेखापरीक्षण तथा निरीक्षण विनियमावली, २०५९ मा आवश्यक संशोधन गरिएको छ।
सम्पत्ति शुद्धीकरण निवारण तथा वित्तीय जानकारी
वित्तीय स्थायित्व, पारदर्शिता र वित्तीय अपराध नियन्त्रण गर्ने उद्देश्य रहेको एएमएल प्रणालीको अवस्था र स्तर मूल्याङ्कन गर्न राष्ट्रिय जोखिम मूल्याङ्कन र स्वमूल्याङ्कन सम्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।