काठमाडौं– नेपाल राष्ट्र ब्रैंकका कर्मचारी संगठनहरूले केन्द्रीय बैंकमाथि राजनीतिक दबदबा रहेको भन्दै बैंकको स्वायत्तता माथि नै प्रश्न गरेका छन्।
राष्ट्र बैंकको ६४औं वार्षिक साधारण सभामा बोल्दै नेपाल राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशमराज रेग्मीले राष्ट्र बैंक राजनीतिक दबाबबाट मुक्त हुन नसकेको धारणा राखेका हुन्।
बैंकभित्रका कर्मचारीहरूले राजनीतिक दबाब महशुस गरेर पनि चुप लागेर बसेको उनको भनाइ थियो। ‘यो प्रकृतिको गुनासो सबै कर्मचारीमा छ। तर, अहिले व्यक्त भइहाल्यो भने भविष्यमा माथिबाट आशिर्वाद पाइँदैन भनेर उनीहरू बोल्दैनन्,’ अध्यक्ष रेग्मीले भने।
रेग्मीले नेपाल राष्ट्र बैंकलगायत सरकारी निकायले सरकार तथा राजनीतिक नेतृत्वको दबाबमा तथ्यांक तोडमोड भएको कुरामा समेत इंगित गरेका छन्।
पछिल्लो समय भन्सार विभाग र राष्ट्र बैंक आफैंले पनि विभिन्न तथ्यांकहरू सार्वजनिक गर्न ढिलाइ गर्ने गरेको उदाहरण दिँदै उनले त्यसको पछाडि पनि सरकार र राजनीतिक तहको दबाब रहेको बताए।
‘भन्सार विभागले मासिक रुपमा रिपोर्ट निकाल्थ्यो, त्यो आउन छोडेको छ। राष्ट्र बैंकले बजारको मूल्य स्थितिका बारेमा विवरण सार्वजनीक गर्थ्यो, त्यो आउन छोडेको छ। यसरी कसैको इसारामा तथ्यांक तोडमोड गर्ने र लुकाउने गर्न थालियो भने हाम्रो विश्वसनियता नै रहँदैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।