काठमाडौं– २०७२ बैसाख १२ गते विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि जनशक्तिको अभाव खड्कियो। एकातिर युवाहरु भुकम्पपछि सिन्धुपाल्चोक, काभ्रे, गोरखा, मकवानपुर, धादिङ, नुवाकोट लगायतका जिल्लामा लेबर कामका लागि जुटे। अर्कतिर सरकारले लगत्तै असार २१ मा फ्री भिसा फ्री टिकट नीति लागू गर्यो। यससँगै मलेसिया लगायत खाडीका ६ वटा देशहरु कुवेत, कतार, बहराइन, साउदी अरब, युएई, ओमनमा फ्री भिसा फ्री टिकटमा कामदारहरु जान थाले।
फ्री भिसा फ्री टिकट नीति ल्याएसँगै प्रभावकारी कार्यान्वयन हुन नसक्दा म्यानपावर कम्पनीहरुले कामदारहरुबाट मोटो रकम असुली कम रकमको भरपाई दिन थाले। वैदेशिक रोजगारका नाममा देशमै धेरै कामदारहरु ठगिने क्रम बढ्यो। यसपछि पनि विस्तारै वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा गिरावट आउन थाल्यो।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०७२ बैसाखदेखि जेठसम्म एक महिनाको अवधिमा मात्रै ३६ हजारभन्दा बढी कामदारहरु विभिन्न खाडी लगायत मुलुकहरुमा रोजगारीको खोजीमा बाहिरिएका थिए। २०७२ सालभरि झन्डै ४ लाख युवा अन्तिम श्रम स्विकृति लिएर वैदेशिक रोजगारमा पुगे।
हरेक वर्ष ४ लाखकै हाराहारिमा युवाहरु वैदेशिक रोजगारमा जाने गरेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा २०७३ सालमा वैदेशिक रोजगारमा जाने युवाहरुको संख्या पनि झन्डै ४ लाखकै हाराहारीमा छ। ०७३ मा अन्तिम श्रम स्विकृति लिएर ३ लाख ८३ हजार ४ सयभन्दा बढी कामदार खाडी लगायत मुलुकमा पुगेका छन्। जसमध्ये ३ लाख ६० हजारभन्दा बढी पुरुष र २० हजारभन्दा बढी महिलाको संख्या रहेको छ।
आर्थिक वर्ष ०७४/०७५ मा वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्या पनि ३ लाख ५४ हजारभन्दा बढी छ।
विदेशिनेमा अदक्ष कामदार
भूकम्पपछि मलेसिया, कतार, साउदी अरब, ओमान, बहराइन, कुवेत लगायत मुलुकमा रोजगारका लागि गएका कामदारहरु ठूलो संख्यामा अदक्ष रहेको विभागले जनाएको छ। ८० प्रतिशत अदक्ष, १७ प्रतिशत अर्धदक्ष र बाँकी ३ प्रतिशत कामदारहरु मात्रै दक्ष छन्।
नेपालमा पुनर्निर्माण लगायत कामका लागि आवश्यक सिप नहुँदा पनि कामदार परदेशिन बाध्य रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्। इन्जिनियरिङ लगायत विभिन्न प्राविधिक कामका लागि आवश्यक जनशक्ति नेपालमा नभएका कारण पनि थुप्रै कामदार विदेशबाट ल्याउनुपर्ने बाध्यकारी अबस्था रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।
विभागका पूर्वनिर्देशक ऋषिराम भुसाल भन्छन्, ‘नेपाली युवाहरु विदेशमा के देखेर जान्छन् अचम्म लाग्छ, यहाँ भूकम्पको समयमा कति कामदारहरुको खाँचो थियो, त्योभन्दा कठिन काम गर्न खाडीको ४५ डिग्रीको घाममा जाने युवाहरुको त्यस्तै लामो लर्को थियो।’
श्रमको सम्मान नहुँदा परदेश
परदेशमा लेबर, क्लिनर लगायत कामका लागि लर्को लाग्ने युवाहरु नेपालमा सोही प्रकृतिका काम गर्न रुचाउँदैनन्।
‘नेपालमा म ज्यामी काम गर्छु भन्यो भने आफन्त बोल्नै मन पराउँदैनन्, म कतारमा लेबर काम गर्छु भन्दा बरु आफन्तहरुले पनि अलि पत्याउँछन्,’ श्रम कार्यालय ताहाचलमा कतार रोजगारीमा जान अन्तिम श्रम स्विकृतिका लागि लाइनमा बसिरहेका जनकपुरका इस्लाम मियाँ भन्छन्।
बाँके कोहलपुरका तुलाराम खड्काको पनि मियाँको जस्तै समस्या छ। उनी भन्छन्, ‘नेपालमा केही सामान्य काम गर्न लाग्यो भने हेपिनुपर्छ, विदेशमा गएर जे काम गरे पनि भयो, कसैले देख्दैन।’
श्रम, तथा व्यवसायजन्य सुरक्षा विभागका पूर्वनिर्देशक भुसाल लेबर लगायत काम नेपालमै गर्दा विदेशको भन्दा राम्रो कमाइ भए पनि श्रमिकहरुलाई हेप्ने, होच्याउने प्रवृत्ति हट्न नसकेको बताउँछन्।
भूकम्पपछिको आर्थिक समस्याले पुर्यायो खाडी
मकवानपुर कुलेखानीका छिरिङ तितुङको घर २०७२ को भूकम्पमा भत्कियो। त्यसपछि उनी विदेशिन बाध्य भए।
‘भूकम्पपछि आर्थिक अवस्था तहसनहस भयो,' तितुङ भन्छन्, 'विदेश जानैपर्ने भयो र हिँडियो तर काम सोचेजस्तो भएन।’
वैदेशिक रोजगारीका लागि तितुङ साउदी पुगे। ३ वर्षबीचमा जेल पनि परे। अन्तत: रित्तै फर्किए ।
अवैध बाटो हुँदै विदेशिने महिला बढे
घरेलु कामदारका रुपमा खाडी जानेहरु जटिल समस्यामा रहेको भन्दै भूकम्पको एक वर्षपछि २०७३ चैतमा सरकारले रोक लगायो। नेपालबाट ठूलो संख्यामा घरेलु कामदारका रुपमा महिला कामदार जाने गरेका थिए।
तर खाडीमा वैधानिक बाटोबाट जान रोक लगाएसँगै भारत हुँदै तेस्रो मुलुक जाने महिलाको संख्या बढ्दै गएको वैदेशिक रोजगारीमा जाने महिला कामदारका सम्बन्धमा काम गर्दै आएको संस्था पौरखी नेपालले जनाएको छ। अघिल्लो महिना भारत हुँदै तेस्रो मुलुक घरेलु कामदारका रुपमा जान लागेका २ सयभन्दा बढी महिलालाई नेपाल फिर्ता गरिएको थियो।
पौरखी नेपालकी महानिर्देशक सत्रमाया गुरुङ भन्छिन्, ‘घरेलु कामदारका रुपमा जान रोक लगाए पनि सरकारले अवैधानिक बाटोबाट जानेहरुलाई रोक्न नसक्दा धेरै महिला जोखिममा छन्।’
भारतको बाटो हुँदै कुवेत, कतार, बहराइन, ओमन, इजरायल, इराक लगायत मुलुकमा घरेलु कामदारका रुपमा लैजाने क्रम बढ्न थालेको उनी बताउँछिन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे घरेलु कामदारका रुपमा अवैधानिक बाटो हुँदै जाने महिला कामदारको संख्या बढ्दै गएको स्वीकार गर्छन्। उनी भन्छन्, ‘महिला कामदारहरुको हकहित र सुरक्षाका सम्बन्धमा छुट्टै नीति भएका मुलुकमा घरेलु कामदारका रुपमा समेत पठाउने गरी छलफल भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।