काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न सरकारसँग आग्रह गरेको छ।
सुरक्षा निकायका प्रमुखसहित मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आम जनताले महसुस गर्नेगरी सुरक्षाको वातावरण मिलाउन आयोगले सरकारसँग आग्रह गरेको हो।
सो क्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको मौन अवधि सुरु भएपछि थप सजकताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिए। निर्वाचन आयुक्त नरेन्द्र दाहालले सुरक्षा निकायले तयार गरेको सुरक्षा योजनालाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्न सुझाव दिए।
यस्तै, अर्का निर्वाचन आयुक्त सुधीरकुमार शाहले सुरक्षा खलबल्याउन प्रयत्न गर्नेलाई कानुनी कारबाही गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन जोड दिए। राजनीतिक दलले समेत सुरक्षा कार्यमा सहयोग पुर्याउनुपर्ने आयुक्त शाहको भनाइ थियो।
बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा निकायबीच उच्चस्तरको समन्वय रहेको बताउँदै निर्वाचन विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कारबाही गरिरहेको र निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको बताएका थिए।
रक्षा मन्त्रालयका सचिव विनोद केसीले निर्वाचन शान्ति पूर्णरूपमा सम्पन्न गर्न आवश्यक सहयोग गर्न नेपाली सेना तत्पर रहेको बताए।
बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिले आफ्नो संगठनबाट भइरहेका काम–कारबाहीबारे आयोगलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।