काठमाडौं– नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्यामध्ये ९ लाख ८ हजार जनसंख्या बेरोजगार रहेको देखिएको छ।
केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको नेपाल श्रमशक्ति सर्वेक्षण २०७४ र ७५ अनुसार १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ११ दशमलब ४ प्रतिशत बेरोजगार रहेको देखिएको हो।
१५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या मध्ये ९ लाख ८ हजार जनसंख्या बेरोजगार छ। जसमध्ये ५ लाख ११ हजार पुरुष छन् भने ३ लाख ९७ हजार महिला रहेका छन्। बेरोजगार मध्ये बसोबासको आधारमा ६ लाख ४० हजार सहरी क्षेत्रमा रहेका छन भने २ लाख ६८ हजार ग्रामीण क्षेत्रमा रहेका छन्।
यसरी हेर्दा नेपालको बेरोजगारी दर १२ दशमलब ४ प्रतिशत रहेको देखिन्छ। जसमा पुरुष र महिलाको बेरोजगारी दर क्रमशः १० दशमलब ३ प्रतिशत र १३ दशमलब १ प्रतिशत रहेको छ।
नेपालमा १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या दुई करोड ७ लाख ४४ हजार छ। ती मध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेको देखिन्छ। जसमध्ये ४४ लाख ४६ हजार पुरुष छन भने २० लाख ४० हजार महिला छन्।
जम्मा रोजगारीमा रहेको जनसंख्याको ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ। रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेका छन्।
सन २०१७/१८ मा नेपालको श्रमशक्तिमा सहभागिता दर ३८ दशमलब ५ प्रतिशत रहेको छ। यो दर सहरमा ४१ दशमलब ७ प्रतिशत र ग्रामीण क्षेत्रमा २६ दशलमब ३ प्रतिशत रहेको छ।
त्यसैगरी पुरुष र महिलाको श्रमशक्तिमा सहभागिता दर क्रमशः ५३ दशमलब ८ प्रतिशत र २६ दशमलब ३ प्रतिशत रहेको छ।
रोजगारमा रहेको जनसंख्यालाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी प्रदेश –३ मा ५३ दशमलब ८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २४ दशमलब १ प्रतिशत रोजगार रहेका छन्।
बेरोजगारी दरलाई प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी प्रदेश–२ मा २० दशलमब १ प्रतिशत र सबैभन्दा कम प्रदेश–३ मा ७ प्रतिशत मात्रै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।