काठमाडाैं- धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ। धावनमार्गको मर्मतसम्भारका साथै विमानस्थलको स्तरोन्नति गर्न एक महिनाका लागि हवाई सेवा बन्द गर्न लागिएको हो।
आगामी बैसाख २२ देखि जेठ २१ सम्म विमानस्थलमा हुने सम्पूर्ण उडान बन्द गरिने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। त्रिभुवन विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको यो विमानस्थलमा काठमाडौंबाट बुद्ध एयर, श्री एयर, नेपाल एयरलाइन्सले नियमित उडान भर्ने गरेका छन्।
१० वर्षमा धावन मार्गको स्तरोन्नति गर्नुपर्ने भएपनि विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नति गरिएको थिएन। यसपटक झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तार लगायतको कार्य हुने प्रमुख बुढथापाले जानकारी दिए।
बिहीबार धनगढीमा बसेको सरोकारवालाहरुको बैठकले विमानस्थलको स्तरोन्नति लगायतका काम गर्न एक महिनाका लागि विमानस्थलमा हुने उडान बन्द गर्ने निर्णय गरेको हाे। विमानस्थल बन्द गर्ने बैठकको निर्णय कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयलाई पत्र पठाइसकिएको र प्राधिकरणले सार्वजनिक सूचना प्रकाशन गरी विमान सेवाप्रादायक कम्पनीलाई विमानस्थल बन्द हुनेबारे जानकारी गराउने प्रमुख बुढथापाको भनाइ छ।
विमानस्थलको स्तरोन्नति गर्न लुम्बीनी, कोसी एण्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौंले १७ करोड ८८ लाख रुपैयाँमा ठेक्का पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक तथा धनगढी विमानस्थल निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग रहेको धनगढी विमानस्थलको धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुबैतर्फ २/२ मिटर भाग फराकिलो बनाइने छ।
त्यस्तै अहिले ३ वटा जहाज पार्किङको व्यवस्था रहेकोमा अब थप एक जहाज पार्किङ गर्न मिल्ने गरी पार्किङ क्षेत्र विस्तार, दमकलको सुविधा थप, एप्रोच लाइट, अन्य लाइटहरु थप, सञ्चार उपकरण वृद्धिलगायतका सेवाथप र विस्तारको काम पनि हुने आयोजना प्रमुख श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।