कैलाली- नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले सुदूरपश्चिममा भएका विकास कांग्रेसका कारण मात्र भएको बताएकी छिन्।
कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यकी उम्मेदवार राणाले धनगढीमा आयोजित चुनावी सभामा वाम गठबन्धन गरेर मुलुकमा साम्यवाद ल्याउने सपना देखेका नेताहरुले सुदूरपश्चिममा गरेका कामको विवरण मागेकी छिन्।
मतदातालाई सम्बोधन गर्दै राणाले भनिन्, 'तपाईंहरू आफैं एमाले र माओवादीलाई सोध्नुहोला, पछिल्ला २५ वर्षमा उहाँहरुले सुदूरपश्चिमको विकासका लागि के गर्नुभयो भनेर।'
धनगढी उपमहानरपालिकाको वडा नम्बर १६ का विभिन्न स्थानमा आयोजित सभामा नेतृ राणाले आफू राम्रो परिवारमा जन्मे-हुर्केको र राम्रै सुविधामा बसिरहेको भन्दै सबै महिलाले आफूले जस्तो सुविधा र अवसर प्राप्त गर्न सकून् भन्ने चाहना समेत व्यक्त गरिन्।
'सो लक्ष्य हासिल गर्न कठिन र असम्भव छैन', राणाले भनिन्।
नेतृ राणाले कांग्रेसकै कारण संविधानमा महिलाका हकअधिकार सुनिश्चित भएको दाबी गर्दै यी अधिकार कार्यान्वयनका लागि कांग्रेसको जित आवश्यक रहेकोमा जोड दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।